इलाम : ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर संघर्ष समितिले आह्वान गरेको बन्दले मेची राजमार्ग र तमोर कोरिडोरमा यातायात ठप्प भएको छ । बन्दको तीन दिन बितिसक्दा पनि समस्याको समाधान नभएकोले यातायात व्यवसायी मजदुरहरु मर्कामा परेका छन्।
लगातारको बन्दले मजदुरहरुको रोजीरोटी नै हराएको इलाममा बिहिवार पत्रकार सम्मेलन गर्दै यातायात मजदुरहरुले यस्तो बताएका हुन ।
यातायात मजदुरहरुले संघर्ष समितिले बन्द फिर्ता लिएर आन्दोलनको मोडेल परिवर्तन गर्न र प्रत्यक्ष रुपमा मजदुर तथा सर्वसाधारण जनताले दुःख नपाउने खालको आन्दोलन गर्न प्रेस बिज्ञप्ती मार्फत आन्दोलनरत पक्षलाई आग्रह समेत गरेका छन ।
यो बन्दले सर्वसाधारणलाई मात्र शास्ती दिएको र पैसावालाहरुले मोटरसाइकल र अटो जस्ता यातायातका साधन रिजर्भ गरेर खुलेआम हिँडेकोले यो विभेदपूर्ण आन्दोलनको मोडेल परिवर्तन गर्न जरुरी रहेको इलामका यातायात ब्यबसायीहरुले बताएका छन् ।
उनीहरुले तीन दिनसम्म आन्दोलनको समर्थन गर्दै यातायातका साधनहरु संचालन नगरेको तर यदि अनुरोधलाई वास्ता नगरी आन्दोलनलाई जारी राखेमा आफ्नो रोजीरोटीको लागि यातायात संचालन गर्न बाध्य हुने बताएका छन्।