इलाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा आउँदैछन् ।
प्रचण्ड आज र भोलि दुई दिन तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने छन् । प्रचण्डसँगै सैनिक हेलिकोप्टरमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि तेह्रथुम आउँदैछन्।
प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।
प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन् ।
उनी आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन् । मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ । त्यसपछि उनले कन्दङवाको शालीक अनावरण गर्नेछन् ।
दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्लास्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने माओवादी केन्द्र तेहथुमका नेता रघु गौतमले जानकारी दिए ।
प्रचण्डले पञ्चायतको अन्तिम समयतिर तेह्रथुमको चुहानडाँडामा रहेको तत्कालीन शारदा माद्यमिक विद्यालयमा शिक्षकको नियुक्तिपत्र लिएका थिए । नियुक्तिपत्र लिएर सदरमुकाम म्याङलुङसम्म पुगेका उनी विद्यालय धेरै टाढा र विकट ठाउँमा रहेको थाहा पाएपछि फर्किएका थिए ।