हरेक वर्षझैँ यस वर्ष पनि यही माघ १० देखि सहिद सप्ताह मनाईदैछ, कर्मकाण्डीय हिसावले । यसरी सहिद सप्ताह अथवा भनौं सहिद दिवस मनाइँदा वा मनाउँदा लखन थापामगरलाई धेरै कम मानिसहरुले मात्रै सम्झने गर्छन् । हुनत सहिद दिवस वा सहिद सप्ताहको कुरो गर्दा राज्यले हालसम्मको परिभाषाअनुसार लगभग १५ हजार मानिसहरु सहिद मानिएका छन् । तर, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द गरी चारजना चाहिँ नेपालका प्रथम सहिदहरु हुन् भनी सबैले चिन्ने–जान्ने गरेका छन् । त्यस्तै गरेर टंकप्रसाद आचार्य, रामहरि जोशी लगायतचाहिँं जिउँदा सहिदहरु हुन् ! भन्ने भपनि जानेका–बुझेका छन् । स्वर्गीय धर्मरत्न यमी (येँमी) ले आफ्नो किताव ‘नेपालका कुरा’मा भनेझैं ती जिउँदा सहिद भनिएका बाहुनहरु पनि त्यो वेलाको कानुनमा ‘मान्छेमा बाहुन र जनावरमा गाई काट्न/मार्न नपाइने’ व्यवस्था भएकाले मात्रै ती बाहुनहरुले जिउँदा सहिद हुने अवसर पाएका हुन् भन्नेमा शंका रहेन । जे भए पनि जहाँनियाँ राणा शासनका विरुद्ध विद्रोहको बिगुल फुक्दा आन्दोलन गर्दा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने चार सहिदहरु गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द एवम् जिउँदा सहिदहरु टंकप्रसाद आचार्य, रामहरि जोशीप्रति हार्दिक सम्मान रहेको छ । साथै त्यो वेलाको एकसय चार वर्षे निरंकुश राणाशासन विरुद्ध विगुल फुकेका थिए ।
ऊ वेलाको जहाँनियाँ राणा शासनका सुत्रधार जंगबहादुर राणाका विरुद्ध संगठित ढंगले ‘बगावत’ अर्थात् ‘विद्रोह’ गर्ने कुरो गर्दा जंगबहादुरलाई आजभन्दा १४८ वर्षअघि नै एक जना असाधारण व्यक्तिले जंगबहादुरलाई हाँक दिएका थिए । उनी थिए— ‘लखन थापामगर ।’ त्यसरी जहाँनियाँ राणा शासनका सुत्रधार जंगबहादुर राणाका विरुद्ध विद्रोह लगन थापामगरले सहादत प्राप्त गरेका थिए । के उनी नै नेपालका प्रथम सहिद होइनन् र ? उनलाई सहिद भएको १२५ वर्षपछि मात्र्र विसं २०५६ मा नेपाल सरकारले सहिद घोषणा गरेको थियो । त्यो वेला नेपाल सरकारले प्रथम सहिद भन्न चाहिँ कञ्ज्युस्याईँ गर्यो ?
जे होस्, इतिहास पढ्दाहेर्दा खेरि सन् १९१४ मा भारतमा बेलायतीहरुले खडा गरेको कम्पनी सरकार अन्तर्गन रहेको अंग्रेज सैनिकविरुद्ध भारतीय सैनिकहरुले ठूलो विद्रोह गर्यो । त्यसरी अंग्रेज सैनिकविरुद्ध भारतीय सैनिकहरुले गरेको त्यो विद्रोहलाई अंग्रेज सैनिकहरुले मात्रै दवाउन नसकेपछि नेपालका तत्कालीन प्रधानमन्त्री तथा श्री ३ महाराज रहेका जंगबहादुर राणा आफै नेपाली सेनाको नेतृत्व गर्दै २५ पल्टन नेपाली सेना लिएर भारतको लखनऊतर्फ लागे । जसमा मगरहरुको पल्टन (पुरानो गोरख गण) मा रहेका लखन थापामगर, जयसिंह चुमीमगर, कालीबहादुर गणका श्रीपद गुरुङलगायतका सैनिक अधिकृतहरु पनि सामेल थिए । यसरी सैनिक विद्रोह दबाउने क्रममा निर्दोस् जनताहरुलाई पनि निर्मम ढंगले हत्या गरिएको दृश्य अनि हालसम्म पनि ‘लखनऊ लुट’को नामले परिचति लखनऊका नबाव अलि शाहको दरबारमा रहेका श्रीसम्पत्ति लट्ने क्रममा देखिएको उश्रृंखलता देखेपछि लखन थापामगरको मनले शान्ति पाएन । खासगरी भारतीय जनताहरुको भारतलाई बेलायतीहरुको पन्जाबबाट मुक्त गर्ने चाहनालाई नजिकैबाट देखे । भलै आफैसमेत संलग्न नेपाली सेनाले ती भारतीय सेना र निर्दोस् जनताहरुको चाहनालाई अमानवीय ढंगले दबाउनु परेको थियो ।
अहिलेको २१ औं शताब्दी भनिएको समयमा त अन्धविश्वास व्यापक छ भने त्यो बेला त झन् कस्तो थियो होला ? सहजै अनुमान लगाउन सकिन्छ । त्यसमा पनि अशिक्षित र धर्मभीरु समाज । स्वभावैले जनताहरु बढी नै धर्मकर्ममा विश्वास गर्थे/राख्थे ।
अतः लखन थापामगरले भारतबाट फर्केपछि जंगबहादुर राणाको एकतन्त्रीय र निरंकुश शासनका विरुद्ध देवीदेवताका नाममा जनचेतना जगाउन थाले । यस क्रममा लखन थापामगरले ‘जंगेले नेपाललाई म्लेच्छ (गोरा) लाई बेच्यो । त्यस्तै दुनियालाई त्राही–त्राही पारेको छ । जातपात छूवाछूत झनै बढाएको छ अब जंगेलाई हटाएर नेपाल आमालाई यो पापको बोझबाट हल्का पार्न पर्छ । यसका लागि मलाई मनकामना देवीले वरदान दिएकी छन् । भाइ हो तयार हौं ।’ भनी गाउँलेहरुलाई ठाऊँ–ठाऊँमा भेला गर्दै चेतना फैलाउन थाले । यसरी केन्द्र (काठमाण्डौ) मा जंगबहादुरको अत्याचार र अन्याय बढी रहँदा उता लखन थापामगरले भने गोरखामा आफ्नै राजद्रोही (हालको भाषामा भन्दा विद्रोही) सरकार गठन गरेर मुख्तियार हालको भाषामा (प्रधानमन्त्री) बने भने जयसिंह चुमीमगरलाई सेनापति (जनरल) बनाए । उनले अन्य सहयोगीहरुमा हालको लमजुङ जिल्लाका सुकदेव गुरुङ, हालको ओखलढुंगा जिल्ला रुम्जाटारका ज्ञान दिलदास र ब्राह्मण कालु लम्साललाई मन्त्री बनाएका थिए । यसै क्रममा उनले आफ्नै नेतृत्वमा २ हजार सेनालाई संगठीत गरेका थिए । ती सेनालाई गोरखाको बुङकोटमा रहेको काहुले भङ्गारमा ठूलो किल्ला र, किल्लाभित्र तीनतले दरबार, पिटी र परेड खेल्ले मैदान (टुँडीखेल) समेत बनाएका थिए । साथै उनले आवश्यक हातहतियार पनि जम्मा गरेका थिए । यस सम्बन्धमा आदिवासी जनजाति चलचित्रकर्मी, आदिवासी जनजाति अधिकारकर्मी तथा लेखक संजोग लाफामगरले इतिहासकार प्रमोदशमशेर राणाको भनाइलाई कोड गरेर २०६४ फागुन ४ गते कान्तिपुर दैनिकमा लेखेको एक लेख अनुसार ‘जंगबहादुरले तत्कालीन श्री ५ युवराज सुरेन्द्रलाई मनाएर जंगबहादुर आफै श्री ३ बाट श्री ५ हुन लागेका थिए । तर लखन थापामगरको जंगबहादुरलाई मार्ने योजना टीकादत्त भुसाल नामक जैसी बाहुन (कसै–कसैले बोर्लाङका थापा क्षेत्रीहरु) ले पोल खोले । त्यसपछि लगभग ५० दिनको शिकारमा निक्लिएका जंगबहादुर १६ दिनमै काठमाण्डौ फर्किएर देवीदत्त बटालियनलाई लखन थापामगरलाई जसरी पनि मार्नू भन्ने आदेश दिएर पठाए । अतः जंगबहादुरको आदेश तामेल गर्न आएको काठमाण्डौको सेना र लखन थापामगरको सेनाबीच बुङकोटमा घोर–घमासान युद्ध भयो । अन्तमा काठमाण्डौको सेनाले विजय हासिल गरेपछि लखन, जयसिंहलगायत उनीहरुका सहयोगीहरुलाई तत्कालै नमारेर पाता कसेर, बाँसको पिँजडामा हालेर काठमाण्डौ ल्याए । त्यसपछि तत्कालै निर्णय गरेर लखन थापामगरलाई मृत्युदण्ड दिइयो । तर लखनले आफ्नै दरबारमा मर्ने इच्छा व्यक्त गरेपछि त्यही लगेर, झन्ड्याएर मार्ने आदेश दिइयो ।’ भनिन्छ, यसरी आदेश दिनासाथ जंगबहादरकी रानी मूर्च्छा परिन् ! र, तत्कालै पा्रयश्चित गर्दै जंगबहादुरले ‘म बाट ठूलो भूल भयो, लखनलाई नमार्नू ।’ भनेर सैनिकमार्फत खबर पठाए । तर जंगबहादुरले ‘लखन थापालाई नमार्नू ।’ भन्ने खबर सैनिकमार्फत पठाउँदैछ भन्ने थाहा पाएपछि जैसी बाहुन र थापा क्षेत्रीहरुले मर्स्याङ्दी नदी तर्ने बेनीघाटमै आएर घाटे (नाउ चलाउने) हरुलाई डरत्रास देखाउँदै रकम दिएर आफ्नो पक्षमा पारे । यसरी जंगबहादुरले पठाएका सैनिकहरु तीन दिन ढीला पुग्दा लखन थापालाई उनकै दरबार अगाडि खिर्राको बोटमा झुन्ड्याइएर मारिसकिएको थियो । यसरी लखन थापालाई मारिसकेको खबर पाउनसाथ जंगबहादुर आफै बुङकोट गएर लखन थापाको लाससँग क्षमा मागी पत्थरघट्टाको बाटो हँुदै काठमाण्डौ फर्किएका थिए ।
भनिन्छ, लखन थापामगरले मर्नुअघि यसो भनेका थिए, ‘–म मरेको सात दिनभित्र त्यो जंगे पनि मर्नेछ । मलाई झुन्ड्याएको बेला कोही पनि नरुनू र पीर नर्गनू, मेरो शरीर कुहेर भुइँमा खस्यो भने लखन थापा मरेर गएछ भनेर जान्नु । यदि त्यसै सुकेर सानो–सानो भइ झुन्ड्याएको डोरीमा शरीर बिलाएमा लखन थापा जिउँदै छ भनेर जान्नु । मलाई झुन्ड्याईएको डोरी सुरक्षित राख्नू, म एकदिन फर्केर आउने छु ।’
यसरी उनलाई झुन्ड्याएर मारेको दिन थियो –विसं १९३३, फागुन २ गते ।
यसरी हेर्दा निर्विवाद रुपमा लखन थापामगरलाई राजनैतिक रुपमा नेपालको प्रथम सहिद मान्न हडबडाउनुपर्ने एवम् कुनै कन्जुसाईँ गर्नुपर्ने कारण देखिदैन । हुनत यसका लागि मगर जातिको आधिकारिक जातीय संस्था ‘नेपाल मगर संघ’ले २०४६ सालको राजनैतिक परिवर्तन लगत्तैदेखि प्रयास थालेको थियो, हो । र, फलस्वरुप २०५६ साल फागुन ११ गते तत्कालीन श्री ५ को सरकारले लखन थापामगरलाई नेपालको सहिद घोषणा गर्यो । तर, उक्त घोषणालाई विविध कारणले गर्दा कार्यन्ययनमा ल्याउनै चाहेन, नेपालका कर्मचारीतन्त्रले । त्यस्तै नेपालका मूलधारका भनिएका मिडियाहरुले पनि सो बारे समाचार नै दिएनन् । संजोग लाफामगरका अनुसार २०६२/२०६३ को तेस्रो जनआन्दोलन पछिको परिवर्तनपछि पनि नेपाल मगर संघले लखन थापामगरलाई नेपालको प्रथम सहिद घोषणा गरियोस् भनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुनः ज्ञापनपत्र बुझाउन जाँदा ठाडै अस्वीकार गरिएको थियो । तर, पछिल्लोपटक नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालको पालामा फेरि लखन थापामगरलाई नेपालका प्रथम सहिद भनी घोषणा गरियो ।