इलाम : जब मेची राजमार्ग माइखाेलामा पहिराेले बन्द भयाे छिन भरमै सामाजिक सजाल रगियाे र देश भर सडक बन्द भएकाे खबर सनसनी बन्याे । राजमार्ग चुँडिएका बेला रमिता हेर्न नेतादेखि कर्मचारी, सरोकारवाला लगायत सबै भेला भए । फिल्डमै पुगेका जिल्लाका अगुवा जनप्रतिनिधि र नेताहरूले समेत यो मार्गलाई स्थायी बनाउन वा वैकल्पिक सडक बनाउने प्रतिबद्धतासमेत दिन पछि परेन्न । तर, बर्खा लाग्न आँटिसक्दा न कतैबाट वैकल्पिक सडक बनेकाे छ न त त्यही सडक बन्न सकेकाे छ । न त अब झ्यार्र पानी पर्दा इलाममा कताबाट गाडी आउँछ भन्ने प्रश्नको जबाफ नै छ कसैसँग ।
इलाम नगरपालिका ९ राजदुवालीमा पर्ने यो ठाउँमा जोखिम यस्तो छ कि, अब यो सडक बगेर जान ठूलो पानी पर्नु पर्दैन । दर्जनौं धाँजा फाटेको र पहिरोले क्षतविक्षत भइसकेको यो खण्डमा अब सानोतिनो पानी परिसक्दा राजमार्ग नराम्रोसँग क्षति हुने सम्भावना आँखाअघि छ ।
बर्खा लाग्न आँटिसक्दा न कतैबाट थप बजेट आयाे न वैकल्पीक सडक नै बन्याे । अब राजदुवाली छेउमा पुनः पहिरो जाने हो भने मर्मत गर्न पनि निकै नै जटिल छ। पानी पर्नेबित्तिकै सडक ठप्प बन्छ र सम्भावित जोखिम टार्न असाेजमा खोजिएका वैकल्पिक सडक कुनैले पनि काम दिनेवाला छैनन् । वैकल्पिक भनिएका सबै सडक कच्ची छन्, साँघुरा छन् । तीमध्येको फराकिलो सडकको बीचमा खोलो पर्छ, त्यसमा पुल छैन ।
अब बर्खा लाग्न केही महिनामात्र बाँकी छ । यति ठूलो जोखिम सधैं देखेर पनि स्थानीय जनप्रतिनिधि, नेता–कार्यकर्ता, सम्बन्धित सरोकारवालालाई छैन चिन्ता चिन्ता छ त स्थानीय उपभोक्तालाई । यो राजमार्ग अवरुद्ध भइहाले सबैभन्दा ठूलो सास्ती पनि उपभोक्ताले खेप्नुपर्छ ।
उनीहरू दिनहुँ सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट ‘अब बर्खामा इलाममा कतैबाट गाडी आउन नसक्ने’ चिन्ता व्यक्त गरिरहेका छन् । बेलैमा उपयुक्त विकल्प नखोज्ने हो भने मेची पहाड केही समयपछि यातायात सम्पर्कविहीन बन्दैछ । कि उपयुक्त उपायसहित मेची राजमार्ग मर्मत गर्नुपर्छ, कि वैकल्पिक सडकलाई बाह्रैमास साना र ठूला सवारी साधन चल्ने बनाउनुपर्छ । तर, यी दुवै उपाय पुनः सडक अवरुद्ध नहुँदासम्म निष्कर्षमा पुग्ने सम्भावना देखिएको छैन ।

बर्खा लाग्न आँटिसक्दा सरकारी ‘प्रक्रिया’ पूरा गर्दागर्दै पुनः राजमार्ग क्षतविक्षत हुने खतरा त्यत्तिकै छ । राजमार्ग मर्मतको प्राविधिक काम गर्ने डिभिजन सडक कार्यालयलाई पनि थाहा छ– अब पानी परिसक्दा मेची राजमार्ग असोजको भन्दा बढी क्षति हुनेछ । डिभिजन प्रमुख पवन भट्टराई मेची राजमार्ग मर्मत र सम्भावित जोखिमबाट बच्न वैकल्पिक सडकका लागि बजेट व्यवस्था गर्नुपर्ने बताउँछन् ।
‘हामीले मेची राजमार्ग वैकल्पिक सडक मर्मत गर्न सबै लागत स्टिमेट तयार गरी सडक विभागमा पेस गरिसकेका छौं,’ उनले भने, ‘समयमै पुग्दो बजेट आउने हो भने काम गर्न सकिन्छ, नत्र आउँदो बर्खामा मेची राजमार्ग अवरुद्ध हुने सम्भावना धेरै नै छ । हामीलाई समेत त्रास छ ।’
प्रमुख भट्टराई भत्किएको भएपनि मेची राजमार्गलाई अहिले नै छाडिहाल्ने अवस्था नरहेको बताउँछन् । ‘राजदुवालीमा मेची राजमार्ग निकै जोखिमपूर्ण छ,’ उनी भन्छन्, ‘तर, राजमार्ग सारिहाल्ने अवस्था छैन । हामीले सार्न पनि सक्दैनौं, मन्त्रिपरिषद्कै निर्णय चाहिन्छ । यसैलाई मर्मत पनि गर्दै गर्नुपर्छ, वैकल्पिक पनि बनाउनुपर्छ भनेर लागिरहेका छौं ।’
मेची राजमार्गको राजदुवालीका लागि वैकल्पिक सडक धेरै छन् तर बजेट अभावले मर्मत रोकिएका छन्, कतै लागेको ठेक्काको काममा समेत बजेट अभाव रहेकाे निमार्ण कम्पनीकाे गुनासाे छ । ठूला सवारी साधनसमेत चल्नसक्ने केचना–कञ्चनजंघा मार्गमा कालोपत्रेसम्मका ठेक्का लागेका छन् तर पर्याप्त बजेट नभएकाे निमार्ण ब्यबसायीहरु बताउछन्। यसैलेपनि निर्माण कम्पनीले जिम्मा लिएको ठेक्काको भौतिक प्रगति खासै हुन सकेको छैन ।
त्यतिमात्र होइन, यही मार्गको बीचमा पर्ने पुवाखोलामा पुल छैन । पुल कहिले बन्ला भन्नेसम्म कसैलाई थाहा छैन । पुल नहुँदा बर्खामा गाडी पार हुने अवस्था रहँदैन । पुलका लागि तीन करोड ६० लाख रुपैयाँको लगत स्टिमेट डिभिजनले सडक विभागमा पेस गरिसकेको छ । तर, बजेटको टुंगो छैन ।
वैकल्पिक भनिएको सिमल गोलाई–माइबेनी–तिल्केनी मार्ग १२ किलोमिटरको छ । सडक साँघुरो भएकाले ठूला सवारी साधन चल्ने अवस्था छैन । बीचमा पर्ने जोगमाई खोलामा पुल पनि छैन । त्यसैले याे सम्भावना त्तकालै देखिदैन ।
मेची राजमार्गको राजदुवाली खण्डमा केही समयअघि भौगर्भिक अध्ययनले हरेक वर्ष जमिन दबिएर जाने समस्या रहेक देखाएको थियो ।
‘अब नयाँ प्रविधिअनुसार यो राजमार्ग मर्मत गर्न करिब पाँच करोड रुपैयाँको बजेट अनुमान गरेका छौं,’ प्रमुख भट्टराईले भने, ‘डा.मधुसुदन आचार्य नेतृत्वको विज्ञ टोलीले पुनः यो स्थानको स्थलगत अवलोकन पनि गरिसकेको छ । अब कहिले यसले निष्कर्ष पाउला भन्ने चाहिँ यकिन छैन ।’
संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले समेत यहाँको स्थलगत अध्ययन गरेका छन् । उनले बजेट तथा कार्यक्रम पारित भइसकेको अवस्थामा मेची राजमार्गको समस्या आइलागेकाले तत्काललाई राजमार्ग बनाउन बजेट नभएको बताए ।
गत असोज दोस्रो साताको अविरल झरीपछि मेची राजमार्गको राजदुवाली मास्तिरको भाग पहिरोले चुँडायो ।
झापादेखि इलाम हुँदै पाँचथर र ताप्लेजुङसम्म आउ–जाउ गर्ने सवारीका साधन ठप्प भए । न कुनै भरपर्दाे वैकल्पिक सडक थियो, न आउ–जाउको अरू कुनै माध्यम । दसैंको मुखमा मेची राजमार्ग छिनेपछि हजारौं यात्रुले सास्ती पाए ।
करिब दुई सय मिटर राजमार्गमा दर्जनौं ठाउँ धाँजा फाटेको, बर्सेनि दबिनेगरेको र मर्मतमा सात करोड रुपैयाँभन्दा बढी खर्चिंदा पनि झन्–झन् बिग्रिरहेको छ ।
व्यवसायीकाे ध्यानाकर्षण
इलामका उद्योगी–व्यवसायीले मेची राजमार्गको इलाम राजदुवाली खण्ड तत्काल मर्मत गर्न वा विकल्प खोज्न माग गरेका छन् । उनीहरूले बर्खाअघि नै यसको विकल्प नखोजे इलाम यातायात सञ्जालबाट टुट्ने भन्दै सिडिओ कल्पना श्रेष्ठमार्फत् नेपाल सरकारलाई ध्यानाकर्षणपत्रसमेत बुझाएका छन् ।
इलाम उद्योग वाणिज्य संघ अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)को नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेका व्यवसायीले पहिरोले बगाएपछि जीर्ण यो खण्डमा सवारी साधन चलेपनि बर्खामा अस्तव्यस्त हुनेमा ध्यानाकर्षण गरेका हुन् ।
उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत यो विषयमा ध्यानाकर्षण गरेका छन् ।