इलाम : आत्महत्या न्युनीकरण गर्नका लागि सबै पक्ष एकजुट हुन आवश्यक रहेको कुरामा इलामका सरोकारवालाहरुले जोड दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग महाशाखा काठमाडौंले मङ्गलबार इलाम सदरमुकाममा आयोजना गरेको आत्महत्या अभिलेखीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सरोकारवालाहरुले सबै पक्षको हातेमालोमा जोड दिएका हुन् । आत्महत्या न्युनीकरण गर्नका लागि तल्लो तहदेखि माथिल्लो तहसम्मका सबै निकाय एकजुट भएर लाग्नुपर्नेमा वक्ताहरुको जोड थियो ।
जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले आत्महत्याका अधिकांश घटना गरिबी र मानसिक स्वास्थ्य समस्यासँग जोडिने भएकाले यस्ता घटना हुन नदिन सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने बताए । ‘आत्महत्याका घटना न्युनीकरण गर्न सबै सरोकारवाल जिम्मेवार भएर लाग्नुपर्छु’, जिसस प्रमुख राईले भन्नुभयो, ‘त्यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारले सरोकारवालाहरुसँग सहकार्य र हातेमालो गर्नुपर्छ ।’ उनले आत्महत्या न्युनीकरणको अभियानमा सबै पक्ष समन्वय अघि बढ्नुपर्नेमा जोड दिए ।
इलाम गरपालिका प्रमुख केदार थापाले आत्महत्या न्युनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्न नगरपालिकाको तर्फबाट बजेटको व्यवस्था गरिने बताए । ‘आत्महत्या न्युनीकरण एक पक्ष मात्र लागेर सम्भव छैन, त्यसका लागि सबै पक्षको सहकार्य आवश्यक छ,’ नगरप्रमुख थापाले भने, ‘आत्महत्यत्या न्युनीकरण सम्बन्धी अभियानमा नगरपालिकाले आवश्य बजेटको व्यवस्थापन गर्छ ।’
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले आत्महत्या रोक्न परिवार सबैभन्दा बढी सक्रिय बन्नुपर्ने बताए । ‘आत्महत्या रोकथामका लागि सबैभन्दा पहिले उसको परिवार सक्रिया बन्नुपर्छ, त्यसपछि क्रमश: छिमेकी, नातागोता, पालिका, सुरक्षा निकाय र अन्य सरोकारवालाहरु सक्रिय बन्नुपर्छ,’ प्रहरी प्रमुख ढकालले भने, ‘सबै पक्षको सक्रियताले मात्र आत्महत्या रोकथान र न्युनीकरण गर्न सकिन्छ ।’
आत्महत्या नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, स्थानीय पालिका र अन्य संघसंस्थासँगको सहकार्यमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको जानकारी गराउँदै उनले त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । इलाममा गत आर्थिक वर्ष २०८०/०८१ मा नौ सय २१ वटा सचेतनामूलक कार्यक्रम समुदायस्तरमा गरिएको उनले बताए ।
‘नेपाल प्रहरीले आत्महत्या सम्बन्धमा अध्ययन अनुसन्धान गरी आत्महत्या न्युनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१ तयार गरी जिल्लामा कार्यान्वयमा रहेको छ,’ उनले भने, ‘स्थानीय स्तरसम्म कार्यदल गठन गरी आम नागरिकलाई सूसुचित गराई सकरात्मक भावनाको विकास गर्न सकेमा आत्महत्या न्युनीकरण हुनेछ ।’
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग महाशाखा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. पोमावती थापाले नेपालमा आत्महत्याको विद्यमान स्थितिबार जानकारी गराउँदै समुदायस्तरमा सचतना पुर्याउन सकेमा आत्महत्या न्युनीकरण गर्न सकिने बताए । उनले आत्महत्या रोकथामका एवम् न्युनीकरणका लागि सबै पक्षको साझेदारी आवश्यक रहेको बताए ।
विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. केदार मरहट्ठाले आत्महत्या स्वास्थ्य समस्या रहेको बताए । उनले समस्याको समयमा नै पहिचान गरेमा दुर्घटनाबाट जोगाउन सकिने बताए ।
इलाम अस्पतालका प्रमुख प्रभु शाहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित विभिन्न सरोकारावाहरु निकायका प्रतिनिधिहरुको सहभागिता थियो ।
आत्महत्या न्युनीकरण हुँदै
यसैबीच जिल्लामा आत्महत्या रोकथामका लागि विभिन्न प्रयास भएपछि आत्महत्याका घटना न्युनीकरण हुँदै गएको पाईएको छ । आत्महत्याका घटना न्युनीकरणमा उपलब्धि हासिल हुन थालेको एक तथ्याङ्कले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ५ महिनामा ३६ जनाले आत्महत्या गरेका छन् । साउनमा सात, भदौमा पाँच, असोजमा आठ, कात्तिकमा चार र मङ्सिरमा १२ जनाले आत्महत्या गरेको प्रहरी प्रमुख ढकालले बताए ।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा ५२ जनाले आत्महत्या गरेका थिए । आवको एक वर्षमा एक सय २० जनाले आत्महत्या गरेका थिए । जिल्लामा सञ्चालन गरिएका विभिन्न कार्यक्रमले आत्महत्याको दर क्रमश घट्दै गएको उनले बताए ।