दोहा (कतार) : गत दिसम्बर २७, २०२४ शुक्रबारका दिन “लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिवद्धता” भन्ने नारा बोकेको किरात याक्थुङ चुम्लुङ कतार (कियाचु) ले लिम्बु समुदायको एक महत्वपुर्ण चाड यसवर्षको चासोक तङनाम हर्सोल्लासका साथ मनायो ।
संस्थाका अध्यक्ष सागर तुम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको चासोक तङनाम कार्यक्रममा आदीबासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगर प्रमुख अतिथी रहेका थिए ।
कियाचु कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सल्लाहकारहरु, आमन्त्रित अतिथीहरु र अन्य शुभचिन्तक, याक्थुङ सुमदाय र गैर याक्थुङ समुदायको व्यापक उपस्थिति रहेको सो कार्यक्रममा संस्थाको प्रमुख सल्लाहकार हर्क खजुमले तागेरा निङवाफु युमा माङलाई पाकेका अन्नबालीको पहिलो अंश चढाउदै अनुष्ठान विधी सम्पन्न गरेका थिए ।
महासंघको सवै मात्रीसंस्थाहरु, कतारस्थित विभिन्न संघसस्था, वैचारिक संगठनका आमन्त्रित प्रतिनिधिहरुले यसवर्षको चासोक तङनामको शुभकामना दिदै लिम्बु समदायहरु प्रकृतिपुजक र पितृपुजक भएकोले चासोक तङनाम अर्थात उधौली पर्वको विशेष महत्व रहेको बताए ।
महासचिव विरेन मादेनको संचालन रहेको कार्यक्रममा कार्यक्रमको संयोजक कियाचु कतारका प्रथम बरिष्ठ उपाध्यक्ष विवस मादेनले स्वागत मन्तव्य राखेका थिए ।
कियाचुका कलाकार लगायत अन्य स्थानिय कलाकारहरुको केलाङ, गित र नृत्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
लिम्बु समुदायको आफनो पुर्खाको (सावा येत्हाङ) सृष्टीकालमा वनजङगल, खोलानाला, पहाड पर्वततिर पाइने, फलफुल, हरियो सागसब्जी, वन्यजन्तु शिकारमा भर पर्ने गरेका थिए । पछि यी सवै सकिदै जादा फेरी व्यापक अनिकाल परेकोले सावा येत्हाङले युमा माङसंग विन्ती गर्दा युमामाङको आशिर्वादले सावा येत्हाङको चेली सिगेरा याक्थुङनामा सिगेरा याङबुगेम्माले काठको औजार (अकमाला,पाकमाला अर्थात खन्ती र अङकुसे) बनाएर विउविजन रोपेर अनिकाललाई अन्त्य गरे । त्यसपछि अनेक किसिमका अन्नबालीहरुको खेती गर्न शुरु गर्दै आए । पाकेको बालीनाली भित्रयाएपछि सवैभन्दा पहिले तागेरा निङवाफु युमा माङलाई चढाएर मात्र अन्न खाने र थन्क्याउने चलन रही आएको छ ।
यही समयमा नेपालको उत्तरतर्फ जाडो याम शुरु हुने र पशुप्राणीहरु दक्षिणतर्फ बसाई सर्ने गरेकोले अर्थात उभोबाट उधोतिर झर्ने भएकोले यस चाडलाई उधौलीको चाड समेत नाम दिइएको हो । नेपाल र विश्वका विभिन्न राष्ट्रमा छरिएर रहेका याक्थुङ लिम्बु समुदायले हरेकवर्ष यो चासोक तङनाम अर्थात उधौली चाड हर्सोल्लासका साथ मनाउदै आएका छन् ।