तेह्रथुम : तेह्रथुममा शितभण्डार सञ्चालन भएपछि कृषकहरुलाई कृषि उपज भण्डारण गर्न सहज भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका –९ शाव्लामा कियाचु कृषि सहकारी संस्थाले दुई वर्षदेखि शितगृह सञ्चालनमा ल्याएको छ ।
सिजनमा फलफूलको कम मूल्य र बजार अभावको समस्या भोगिरहेका किसानहरुलाई शितभण्डारमा केहि समय भण्डारण गरेर बेच्दा कम मूल्य र बजार अभावको समस्या समाधान भएको छ ।
कोशी प्रदेश सरकार, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको साझेदारीमा एक हजार मेट्रिक टनको शितभण्डार निर्माण भएर सञ्चालन भइरहेको हो ।
यस पालि शितभण्डारमा किसानहरुले तीन टन आलुको बीउ र १८ टन किबि, भण्डारण गरेका छन् । सदरमुकाम म्याङलुङ स्थित मेयङलुङ शित भण्डारमा पाँचथर सम्मका किसानहरुले किबि भण्डारण गरेका छन् ।
पाँचथर फालेलुङ गाउँपालिका – ५ प्राम्बुङका किबि व्यापारी प्रेमबहादुर सम्बाहाङफेले १२ टन किबि शितभण्डारमा भण्डारण गरेको बताए ।
सिजनमा धेरै किबि भएर बोटमै कुहिने, सुँगुरलाई दिनुपर्ने अवस्थामा शितभण्डारमा भण्डारण गरेर २, ३ महिनापछि बजारमा निकाल्दा अहिलेको मूल्यको दोब्बर मूल्य पाइने भएकाले आफूले गाउँका किसानबाट किबि खरिद गरी शितभण्डारमा भण्डारण गरेको व्यापारी सम्बाहाङ्फेको भनाई छ ।
आलु उत्पादक कृषकहरुले आफूले उत्पादन गरेकोे आलुको सिजनमा प्रति केजी रु ३० देखि ३५ मा बेचेर रोप्ने बेलामा प्रतिकेजीको रु १२० सम्ममा खरिद गर्नू परेको अनुभव कृषकहरुलाई छ ।
यसपाली शितभण्डारमा आलुको बिउ भण्डारण गरी आफ्नै बिउ रोप्दा बिउ किन्न नपरेकाले दोब्बर फाइदा भएको म्याङलुङ ६ मेक्चानाका कृषक कृण्णकुमार श्रेष्ठले बताए ।
१२ रोपनी क्षेत्रमा ५ क्विन्टल आलुको बिउ रोप्नु भएको उहाँले शितभण्डारको प्रयोगले आलुको बिउ किन्ने पैसा बचत भएको सुनाए ।
‘३० रुपैयाँ प्रतिकेजी पर्ने बेलामा आलु शितभण्डारमा प्रतिकेजी प्रतिमहिना रु २ रुपैयाँ ५० पैसा भाडा तिरेर ५ महिना राखेर झिक्दा प्रतिकेजी १२ रुपैयाँ शितभण्डारको भाडा जोड्दा ४२ रुपैयाँ पर्न गयो । आलु रोप्ने बेलामा बिउ प्रतिकेजी १ सय २० रुपैयाँ पुगिसकेको थियो । त्यसो हुँदा कता हो कता शितभण्डारमा भण्डारण गर्नु नै फाइदा रहेछ, फेरी शितभण्डारमा राखेको बिउ अन्य बिउ भन्दा राम्रो पनि हुनेरैछ’ श्रेष्ठले भने ।
आफूले उत्पादन गरेको आलु प्रतिकेजी रु ३० देखि ३५ मा बेचेर रोप्ने बेलामा तेब्बर बढि मुल्यमा बीउ खरिद गर्नुपर्ने अवस्थाको अन्त्य भएको म्याङलुङ ७ जिरिखिम्तीकन अर्का कृषक मंगला नेपालीले बताए ।
‘शितभण्डारमा यस अघि कहिले भण्डारण नगरेकाले डराई डराई ३० केजी बीउ मात्रै भण्डारण गरियो, घरमा राखेको १० क्विन्टल आलु सबै कुहिए । शितभण्डारमा राखेको जस्ताको तस्तै थियो । अहिले पछुतो लागेको छ । सबै आलु भण्डारण गरेको भए अरु आलु कुहिनेथिएन ६ महिना खान पुग्थ्यो । अबदेखि सधै सबै आलु बेलैमा शितभण्डारमा भण्डारण गर्छु ’ नेपालीले भने ।
सुन्तला र किबि जस्ता फलले सिजनमा कम मूल्य र बजार अभावका समस्या भोगिरहेका किसानहरुले शितभण्डारमा केहि समय भण्डारण गरेर बेच्दा दोब्बर मुल्य पाइने भएकाले किसानहरु शितभण्डारप्रति आर्कशित भएका हुन् ।
सुरुमा शितभण्डार सञ्चालन गर्न भने त्यति सहज थिएन । पहिलो पल्ट शितभण्डारको नाम सुनेका कृषकहरु शितभण्डारको उपयोगिताको बारेमा अनभिज्ञ हुँदा र सञ्चालकहरुमा शितभण्डार सञ्चालन सम्बन्धी सीपको अभाव हुँदा निकै कष्ट भोग्नुपरेको मेयङलुङ शितभण्डारका सञ्चालक कुमारी लिम्बूले बताए ।
सहज नेपाल नामक संस्थाले शितभण्डार सञ्चालनका लागि प्राविधिक तालिम, बजारसँगको समन्वय ,किसानहरुलाई शितभण्डार उपयोगिताको बारेमा जनचेतना मुलक घरदैलो कार्यक्रम लगायतको सहयोग पछि भने शितभण्डार निकै राम्ररी चल्न सकेको व्यवस्थापक लिम्बूको भनाई छ
‘अहिले जिल्लाभरीका कृषकहरुले फोन गर्नुहुन्छ । भण्डारणको लागि अहिले सुन्तला कृषकहरुको फोन आइरहेको छ । गत साल ३ हजार केजी सुन्तला भण्डारण भएको थियो । सुन्तला भण्डारणको लागि तयारी गरिरहेका छौ ’ लिम्बूले भने ।
गतसाल पुस महिनामा सुन्तला भण्डारण गरि दुई,तीन महिनापछि फागुन, चैतमा तेब्बर दाममा सुन्तला बेचेको म्याङलुङ २ का मेनका श्रेष्ठले यसपालि पनि सुन्तला भण्डारण गर्ने योजनामा रहेकोे बताए ।
शितभण्डारमा अहिलेसम्म फलफूल मात्रै भण्डारणको लागि आएको छ । व्यवस्थापक लिम्बूका अनुसार घुन लाग्ने सबै किसिमका अन्नहरु दाल, मकै, कोदो, फापर,जौ, गहुँ, धान भण्डारण गरी घुन लाग्नबाट बचाउन सकिन्छ ।
कोशी प्रदेश सरकारको रु तीन करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको रु एक करोड ३० लाख साझेदारीमा म्याङलुङ बजारदेखि ४ किलोमिटर केहि तल शित भण्डार सञ्चालनरत रहेको छ ।