समयमा जन्मदर्ता र मृत्युदर्ता गराउनेलाई पाँच/पाँच हजार दिदैँ माङसेबुङ गाउँपालिका

इलाम :  ‘जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३’ मा कुनै व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईसराई भएको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा नि:शुल्क घटना दर्ता गर्न सकिने व्यवस्था छ । तर, सबैजसो व्यक्तिले समयमै घटना दर्ता गर्दैनन् । कतिपय स्थानीय तहले समयमै घटना दर्ता गराउन विभिन्न अभियान सञ्चालन गर्ने गरेका छन् ।

यसै अभियान अन्तर्गत जिल्लाको माङसेबुङ गाउँपालिकाले समयमै घटना दर्ता गराउन प्रोत्साहन गर्ने उदेश्यले सहयोग गर्ने नीति लिएको छ । गाउँपालिकाले समयमै जन्मदर्ता र मृत्युदर्ता गराएमा पाँच-पाँच हजार रुपैयाँ सहयोग उपलब्ध गराउने नीति कार्यान्वयनमा ल्याउन लागेको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । त्यसका लागि  कार्यालयको तर्फबाट आवेदन आह्वान गरिएको उनले जानकारी दिए ।

माङसेबुङ गाउँपालिकाले ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ अन्तर्गत गाउँपालिकाभित्र स्थायी बसोबास गरेका प्रत्येक सुत्केरीलाई आफ्नो शिशुको ३५ दिनभित्र जन्मदर्ता गराए पाँच हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउने तयारी गरेको हो । माङसेबुङ गाउँपालिकाभित्र स्थायी बसोबास गरी कुनै स्वास्थ्य संस्थामा चार पटक गर्भ जाँच गरेको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेश गर्नुपर्ने प्रावधान गरेको अध्यक्ष राईले बताए ।

त्यसैगरी, माङसेबुङले कुनैपनि कारणले मृत्यु भएका गाउँपालिकाभित्रका नागरिकका परिवारलाई दाहसंस्कार खर्चवापत समेत पाँच हजार सहयोग उपलब्ध गराउने तयारी समेत गरेको छ । मृत्यु भएको ३५ दिनभित्र मृत्युदर्ता गराई गाउँपालिकामा पेश गरेपछि दाहसंस्कार खर्च उपलब्ध गराउने व्यवस्था गरिएको अध्यक्ष राईले बताए ।

माङसेबुङ गाउँपालिकाले ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ र ‘दाहसंस्कार खर्च कार्यक्रम’ का लागि लागि चालु आर्थिक वर्ष २०८१/०८२ मा पाँच/पाँच लाख बजेट विनियोजन गरेको छ । माङसेबुङ गाउँपालिकामा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा समग्रमा तीन सय ९३ जनाले जन्मदर्ता र एक सय १७ जनाले मृत्युदर्ता गरेको माङसेबुङ गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख मनकुमार मगरले जानकारी दिए ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार माङसेबुङ गाउँपालिकाको जनसङ्ख्या १६ हजार आठ सय १० रहेको छ । जसमध्ये महिलाको सङ्ख्या आठ हजार तीन सय ३३ र पुरुषको सङ्ख्या आठ हजार चार सय ७७ रहेको छ ।

यसअघि दुवै कार्यक्रम इलामको देउमाई नगरपालिकाले सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार