तेह्रथुम : तेह्रथुममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन विस्तार भएको छ । आज बुधबार तेह्रथुमको सदरमुकाम म्याङलुङमा रास्वपाले प्रथम जिल्ला भेला आयोजना गरी संगठन विस्तार गरेको हो ।
जिल्ला भेलालाई सम्बोधन गर्दै रास्वपा नेतृ डा. तोसिमा कार्कीले गाउँगाउँको विकास गर्नका लागि रास्वपाको उदय भएको बताइन् । प्रतिनिधिसभा सदस्य समेत रहेकी कार्कीले ठूला पार्टीबाट दिक्क भएका युवाहरुलाई संगठनमा आवद्ध गरेर रास्वपालाई शक्तिशाली पार्टीको रुपमा विस्तार गरी देश विकास गर्ने उद्घोष गरिन्।
भेलाले सुमन खत्रीको सभापतित्वमा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उपसभापतिमा मिन लाक्पा शेर्पा, सचिवमा लिलम बस्नेत, सहसचिवमा विमल भट्टराई र कोषाध्यक्षमा दिपेन्द्र सिङ्घक चयन भएका छन् । सदस्यहरुमा हमसागर बजगाई, सुमन नेपाल, छत्रबहादुर थापा, शिव बाँस्कोटा, भानु कट्टेल र युवकुमारी बजगाई रिजाल चयन भएका छन् ।
नवगठित समिति सभापति खत्रीले अब पालिका र वडामा समेत पार्टीको समिति गठन गरी पार्टी विस्तार गरिने बताए । रास्वपाको आउने वैशाख दोस्रो साता हुने महाधिवेशनका लागि पार्टी विस्तारको तयारीमा जुटेको उनको भनाई छ ।
तेह्रथुममा अहिलेसम्म छ सय भन्दा बढी पार्टीको सदस्यता विस्तार भइसकेकोे रास्वपा कोशी प्रदेश सदस्य राजकुमार गौतमले बताए ।