पाँचथरः पाँचथर सदरमुकाम फिदिममा पूर्वी पहाडको चर्चित फुटवल प्रतियोगिता ‘फाल्गुनन्द गोल्डकप’ पौष ६ गतेदेखि संचालन हुने भएको छ । १० लाख ५५५ रुपैयाँ प्रथम पुरस्कार राशीको ११ औँ संस्करणको उक्त प्रतियोगिता संचालनको तयारी भएको छ ।
फिदिम स्पोर्टिङ क्लबको आयोजनामा २०६५ सालदेखि संचालित गोल्डकप २०७५ सालसम्म निरन्तरता संचालन भएको थियो । यस पटक छ वर्षपछि फिदिमको खेल मैदानमा पुनः संचालन हुन लागेको क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए । ‘ए’ डिभिजनसहितका दश टिम सहभागी हुने प्रतियोगिताको क्बलले खेल तालिका सार्वजनिक गरेको छ । उद्घाटन खेल आयोजक फिदिम स्पोर्टिङ क्लब र पाहुना टोली भारतको करसाङ एफसिसँग प्रतिस्पर्धा हुने जनाइएको छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटवल क्लब, चर्च ब्वाईज, एनआरटी, झापा–११, विराटनगर सिटी क्बल, न्यूस्टार सुनसरी र सल्हेश फुटवल क्बल सिराह सहभागी छन् । पौष १५ गते सम्पन्न हुने प्रतियोगिताको प्रत्येक खेलमा प्लेयर अफ दि म्याच हुने खेलाडीले १० हजार रुपैयाँ, सर्वाधिक गोलकर्ताले १५ हजार रुपैयाँ पाउनेछ ।
यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयीमान खेलाडीले समान १० हजार रुपैयाँ गर्नेछन् । आयोजक क्लबका अध्यक्ष दिपेन्द्र थापामगरका अनुसार प्रतियोगितामा ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले इभी स्कुटर प्रदान गरिने छ । प्रवर्धक फिदिम नगरपालिका र फिदिम स्पोर्टिङ क्लबको आयोजनामा लामो समयपछि ठुलो धनराशीको पुरस्कार तथा चर्चित टिमहरुको खेल प्रदर्शन हुने भएसंगै खेलप्रेमी र दर्शकको भिड लाग्ने अनुमान गरिएको छ । यस प्रतियोगिताले जिल्लाको आर्थिक पक्षमा टेवा मिल्नुका साथै खेलकुदका माध्यमबाट यस क्षेत्रको प्रवर्धन हुने अपेक्षा गरिएको छ ।