इलाम : गएको मङसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा अन्तरघात गरेका प्रेस सन्टर नेपालका इलाम इन्चार्ज एवम् केन्द्रीय सदस्य अशोक प्रधानलाई प्रेस सेन्टरले साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको छ ।
प्रेस सेन्टरका तर्फबाट अध्यक्ष पदमा उम्मेद्वार बनेका सेन्टरका इलाम सहइन्चार्ज एवम् केन्द्रीय सदस्य राम योङहाङलाई पराजित गर्न विपक्षी गठबन्धनसँग साँठगाँठ गरेका प्रधानलाई जिल्ला समितिको सिफारिसमा प्रदेश समितिले गरेको कार्वाहीलाई अनुमोदन गरेको हो ।
प्रेस सेन्टर नेपाल केन्द्रीय समितिले मङ्गलबार परिपत्र जारी गर्दै प्रधानलाई साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएको महासचिव सन्तोष पौडेलले जानकारी दिए । साधारण सदस्यबाट निस्काशन भएसँगै प्रधानको जिम्मेवारी समेत खोसिएको छ ।
इलामको देउमाई नगरपालिका निवासी प्रधान नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष समेत हुन् ।
यसैबीच, प्रधानलाई पार्टीबाट समेत कार्वाही गर्न माग गर्दै प्रेस सेन्टर इलामले सिफारिस गरी जिल्ला समितिमा पत्राचार गरेको छ । जिल्ला समितिको सिफारिसको आधारमा प्रदेश समितिले आवश्यक कार्वाही गर्ने सो पार्टीले जनाएको छ ।