विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले चालु आर्थिक आर्थिक वर्ष भित्रै सञ्चार प्रतिष्ठान ऐन ल्याउन लागेको बताएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस)ले कोशी प्रदेशका स्थानीय समाचारदाताहरुका लागि आयोजना गरेको तीन दिने क्षमता विकास तथा अन्तक्रिया कार्यक्रमको सोमबार विराटनगरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ऐनले पत्रकारको क्षमता विकास र सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले सरकारका राम्रा कामलाई जनता समक्ष पुर्याउने र गल्ती कमजोरीमाथि खबरदारी गर्नुपर्ने बताए । राससले आफुलाई समयानुकुल परिवर्तन गर्दै सवैले खोज्ने र रोज्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
फरक प्रसङ्मा मुख्यममन्त्री कार्कीले राज्यको सुरक्षा र सेवा सुविधा लिइरहेको व्यक्तित्वहरुले हिरासतमा रहेका व्यक्तिलाई भेट गर्दै राज्यको विरुद्धमा प्रचार प्रसार गरेकोमा आपत्ति जनाए। साथै उनले राज्यले हिरासतमा रहेका सवै व्यक्तिको मानव अधिकारको ग्यारेन्टी गर्न कुनै कसर वाँकी नराखेको बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकार पत्रकारिताको प्रवद्र्धन निरन्तर लागिरहेको बताए । आगामी वर्ष २० लाख पर्यटक कोशी प्रदेशमा भित्र्याउने योजना रहेको र जसले समग्र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई २१ औ शताब्दीको सञ्चार संस्थाको रुपमा स्थापित गराउन चाहेको बताए । उनले स्थानीय तहमा भए गरेको विकास निर्माणका कामहरुलाई बाहिर ल्याउन जिल्ला सामाचारदाताहरुलाई निर्देशन दिए । साथै कार्यकारी अध्यक्ष झाले जनतालाई केन्द्रविन्दुमा राखेर कलम चलाउन आग्रह गरे।
तीन दिने तालिमका अवसरमा स्वागत मन्तव्य राख्नुहुँदै राससका महाप्रवन्धक सिद्धराज राईले सकारात्मक पत्रकारितालाई बढवा दिनुपर्नेमा जोड दिए ।
रासस सञ्चालक समिति सदस्य शंकर खरेलले सरकारले गरेका जनपक्षिय विकास निर्माण र परिवर्तनलाई नागरिक समक्ष पुर्याउन सम्बद्ध सवैलाई आग्रह गरे ।
मिथिला मिथक विमोचान
सोही अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेद्र झाद्वारा लिखित मिथिला मिथक पुस्तकको मुख्यमन्त्री हिक्मत कुमार कार्की र आन्तरिक मामिला तथा कानूनमन्त्री रेवती रमण भण्डारीबाट विमोचन गरिएको छ ।
मुख्यमन्त्री कार्कीले पत्रकारितासँगै पुस्तक लेखनका माध्यमबाट समाज परिवर्तनमा झाले लेखेका कृतीहरु सफलताको कामना गरे ।