इलाम : नेपाल पत्रकार महासंघ इलाम शाखाको नयाँ नेतृत्वका लागि युवा पत्रकार राम योङहाङले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
शुक्रबा हुने निर्वाचनमा महासंघ इलाम शाखाको वर्तमान कोषाध्यक्ष योङहाङले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । इलामस्थित तीन पत्रकार संगठन प्रेस संगठन नेपाल, प्रेस मञ्च नेपाल, समाजवादी प्रेस संगठन र स्वतन्त्र पत्रकार समूहसहितको ‘स्वतन्त्र समावेशी श्रमजिवी पत्रकारहरुको साझा प्यानल’ को तर्फबाट योङहाङ साझा उम्मेदवार बनेका हुन् ।
व्यावसायिक पत्रकारितामा क्रियाशील योङहाङ नेपाल पत्रकार महासंघ इलामको इतिहासमा पारदर्शी आयव्यय प्रस्तुत गर्ने प्रथम कोषाध्यक्ष हुन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को दुई कार्यकाल अध्यक्ष रहेका योङहाङ प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य समेत हुन् ।
इलामको माङसबुङ गाउँपालिका–३, इभाङमा जन्मिएर इलाम नगरपालिका–७ मा बसोबास गरिरहेका योङहाङ १३ वर्षदेखि सौर्य राष्ट्रिय दैनिकमा कार्यरत छन् । उनी ८ वर्षदेखि नयाँ बुलन्द डट कमको सम्पादक भई काम गर्दै आएका छन् । नयाँ बुलन्द डट कम इलामको लोकप्रिय अनलाइन पत्रिका हो ।
२०६४ सालबाट पत्रकारिता सुरु गरेका योङहाङले इलाम एफएम इलाम, नागरिक एफएम झापा, इलाम पोष्ट दैनिक इलाम, पूर्व सन्देश दैनिक झापा, पिपुल्स टाइम्स दैनिक झापामा काम गरिसकेका छन् । त्यस्तै मोफसल साप्ताहिक मोरङ, इक्ला साप्ताहिक इलाम, कमाण्डर पोष्ट राष्ट्रिय दैनिक काठमाण्डौंमा समेत काग गरेको अनुभव रहेको छ ।
उनले आफ्नो सम्पादकत्वमा २०७३ सालबाट नयाँ बुलन्द डट कम संचालन गर्दै आएका छन् । नेपाल सरकारको सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिमा २०८० सालबाट काम गर्दै आएका छन् ।
योङहाङले दुई वटा विषयमा स्नातकोत्तर गरेका छन् । मानविकी तथा सामाजिक विज्ञान संकायको ग्रामीण विकास र व्यवस्थापन संकायको जन प्रशासन विषयमा स्नातकोत्तर गरेका छन् । उनले शिक्षा संकायमा स्नातक र कानुन संकायमा स्नातक अध्ययन गरेका छन् ।
योङहाङले पत्रकार महासंघलाई पत्रकारहरुको साझा संस्था बनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न, श्रमजीवी पत्रकारको अधिकार, स्वरोजगारमूलक सञ्चार माध्यमको हित र सूचनाको हकको रक्षा गर्न, नागरिकको आवाज बुलन्द गर्ने नागरिक संस्थाको रूपमा पत्रकार महासंघलाई स्थापित गर्न, स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणका लागि कार्यक्रम सञ्चालन गर्न, डिजिटल तथा मल्टिमिडिया पत्रकारिताको विकासमा काम गर्न अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताए ।
स्वतन्त्र समावेशी श्रमजीवी पत्रकारहरुको साझा प्यानलले उपाध्यक्षमा पत्रकार लोकेन थेवेलाई समर्थन गरेको छ । सोही अनुसार खुल्ला स्वतन्त्र समावेशी श्रमजिवी पत्रकारहरुको साझा प्यानलले उपाध्यक्षमा उम्मेवारी नदिएको हो ।
सो प्यानलबाट उपाध्यक्ष (महिला) मा सिर्जना श्रेष्ठ, सचिवमा बालकृष्ण बस्नेत, सहसचिव (समावेशी) मा ज्ञानु लिम्बू, सहसचिव खुलामा तीलबिक्रम दर्जी (बिक्रम), महिला सदस्यमा गंगा पराजुली, आदिवासी जनजाति सदस्यमा सङसेमी माङयुङ, खुला सदस्यमा देवीप्रसाद पौडेल, नमिन ढकाल र यामकुमार माबो लिम्बूले उमेद्धवारी दिएका छन् ।
साझा प्यानलले अधिकतम सबै पक्ष समेट्ने लक्ष्यका साथ कोषाध्यक्षमा उमेद्धवारी दिएका फरक क्षमता भएका भगिरथ भण्डारीको ठाउँमा उमेद्धवारी दिएन । त्यस्तै केन्द्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्यमा उमेद्धवारी दिएको छैन ।
संचार क्षेत्रमा क्रियाशील रहेका पत्रकारहरुको चुनावमा आपसी प्रतिष्पर्धार्धालाई कम गर्दै साझा नेपाल पत्रकार महासंघ बनाउने उदेश्यले क्रियाशील र योग्य व्यक्तिले उमेद्वारी दिएको क्षेत्रमा उमेद्वारी नदिएको स्वतन्त्र समावेशी श्रमजीवी पत्रकारको साझा प्यानलका संवाद समितिका सदस्य सुजन तिमसिनाले बताए ।
यस्तो छ योङहाङ नेतृत्वको साझा प्यानलको साझा प्रतिवद्धता …..
जसको नीति, उसको नेतृत्व…
– नेपाल पत्रकार महासंघ इलाम शाखाको भवन थप व्यवस्थित बनाउँदै प्रविधिमैत्री बनाइनेछ ।
– इलाइब्रेरी र सूचना केन्द्रलाई थप व्यवस्थित बनाइनेछ ।
– शाखाको वेवसाइट थप व्यवस्थित बनाउँदै सूचना र समाचार नियमित अध्यावधिक गर्ने व्यवस्था मिलाइनेछ ।
– ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ र ‘क्रियाशील पत्रकार महिला पुरस्कार’ कोषको रकम वृद्धि गर्दै पुरस्कार राशी समेत वृद्धि गरिनेछ ।
– ‘पत्रकार राहत कोष’को रकम वृद्धि गर्दै दुर्घटनामा परेका र बिरामी पत्रकालाई दिइने रकममा वृद्धि गरिनेछ ।
– ‘समावेशी पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी महिला, दलित, अपाङ्गता भएका, आदिवासी जनजाति, अल्पसङ्ख्यक, सीमान्तकृत एवम् खसआर्य पत्रकारलाई बर्सेनि पुरस्कार वितरण गर्ने व्यवस्थाको सुरुवाल गरिनेछ ।
– शाखाको वार्षिक स्मारिका/बुलेटिन र क्लालेण्डर प्रकाशन गर्ने कार्यको सुरुवात गरिनेछ ।
– श्रमजीवि महिला पत्रकारका लागि ‘सुत्केरी विशेष प्रोत्साहन कार्यक्रम’ सुरुवात गरिनेछ ।
– पत्रकारितामा संलग्न रहेकाहरुलाई टिकाइराख्न उच्चस्तरको एवम् प्रविधिमैत्री र नयाँलाई आकर्षित गराउन आधारभूत पत्रकारिता तालिमहरु नियमित रुपमा सञ्चालन गरिनेछ ।
– श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्ति (फेलोसिप) लगायत वैकल्पिक कार्यक्रममार्फत आर्थिक सहयोग गराइने व्यवस्था मिलाइनेछ ।
– श्रमजीवि पत्रकारका छोराछोरीलाई संस्थागत विद्यालयमा पूर्ण छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था मिलाउन पहल गरिनेछ ।
– विभिन्न स्वास्थ्य संस्था एवम् अस्पतालहरुसँग समन्वय गरी पत्रकार र पत्रकारको परिवारलाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ ।
– श्रमजीवी पत्रकारहरुका लागि प्राप्त हुने विभिन्न अवसरहरुमा समानुपातिक समावेशिताको नीति अवलम्बन गरिनेछ ।
– स्थानीय तहलाई सञ्चार नीति निर्माण गर्न समन्वय गर्दै स्थानीय सञ्चार माध्यम (टेलिभिजन, एफएम रेडियो, छापा पत्रिका र अनलाइन पत्रिका) लाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने नीतिगत र कानुनी व्यवस्था मिलाउन पहल गरिनेछ ।
– राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने सूचना/विज्ञापन स्थानीय पत्रकार/विज्ञापन एजेन्सीमार्फत नै
प्रकाशन गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ।
– स्वलगानी एवम् स्वरोजगारमूलक स्थानीय सञ्चारमाध्यमको विकास र संरक्षणका लागि प्रवर्द्धनात्मक
कार्यक्रम सञ्चालन गरिनेछ ।
– सूचना विभागबाट प्रेस पास प्राप्ति/नविकरण, अनलाइन सञ्चारमाध्यम दर्ता/नविकरण, छापा पत्रिका दर्ता, एफएम रेडियो लाइसेन्स / इजाजत नविकरण एवम् लोक कल्याणकारी विज्ञापनको रकम भुक्तानीका लागि सहजीकरण गरिनेछ ।
– श्रमजीवि पत्रकार ऐन कार्यान्वयनका लागि आवश्यक पहल गरिनेछ ।
– सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशील रहनेछौं ।
– पत्रकार तथा आमसञ्चारमाध्यमको व्यावसायिक हकहित र भौतिक सुरक्षाका लागि सक्रिय रहनेछौं ।
– राष्ट्र, समाज र आम नागरिक तथा पत्रकार जगतको हितका साथै स्वच्छ पत्रकारिताको प्रवर्द्धनका निम्ति क्रियाशील रहनेछौं ।
– नेपाल पत्रकार महासंघ केन्द्र र प्रदेशसँग समन्वय र सहकार्य गर्दै संस्थागत हितको कार्य रहनेछौं ।
– प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रवर्द्धनका लागि आवश्यक अन्य नियमित कामहरु गरिनेछ ।
रामकुमार लिम्बू योङहाङ
अध्यक्ष पदका उम्मेद्वार
(स्वतन्त्र समावेशी श्रमजीवी पत्रकारको साझा प्यानल)