काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सा जिल्ला प्रहरीले पनि पक्राउ पुर्जी जारी गरेको छ । उनको चितवनमा बयान चलिरहँदा पर्सा जिल्ला प्रहरीले पनि पक्राउ पुर्जी जारी गरेको हो ।
उनीसँगै गोर्खा मिडियाका तत्कालीन साझेदार पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो । वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न प्रहरीलाई बुधबार पर्सा जिल्ला अदालतले अनुमति दिएको थियो ।
सोसँगै प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । रवि गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहेका बेला सानो पाइलाबाट करिब ८ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको थियो ।
रवि र छविविरुद्ध कास्की, रुपन्देही, काठमाडौँ र चितवनमा पनि पक्राउ पुर्जी जारी भई अनुसन्धान चलिरहेको छ । रुपन्देहीसँगै काठमाडौँका सरकारी वकिलको कार्यालयले बयान लिँदा दुवै जना कास्की प्रहरीको हिरासतमा छन् ।
छविलाई कास्की प्रहरीले असोज ६ गते तथा रविलाई कार्तिक २ गते पक्राउ गरेको थियो ।
रविमाथि सहकारी ठगीसहित चार ओटा आरोपमा अनुसन्धान भइरहेको छ ।
तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेमाथि विभिन्न पाँच सहकारीबाट रकम लगेको आरोपमा अनुसन्धान भइरहेको हो ।
यसका मुख्य योजनाकार मानिएका रवि र छविका साझेदार जीबी राई भने फरार छन् ।