धर्मले मानव जातिलाई अनुशासित बनाएको छ : मन्त्री राई

माङसेबुङ (इलाम) : रक्षामन्त्री मानवीर राईले सबै धर्मले मानव जातिलाई अनुशासित बनाएको बताएका छन् ।

इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७१ औँ जन्मोत्सव समारोहमा मन्त्री राईले मानव जगतलाई अनुशासित बनाइराख्न धर्मले भूमिका निर्वाह गरिरहेको बताए ।

‘यदि धर्म छैन भने लगामबिनाको घोडाजस्तै हुन्छ, एक्काइसौँ शताब्दीमा मानवको रुपमा उभ्याउन मुस्किल हुन्छ’, उनले भने, ‘सबै धर्मले मानव जातिलाई अनुशासित भएर बाँच्न सहयोग गरिरहेको छ ।’

मन्त्री राईले समाज सुधारक राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन र वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको उपदेशले किरात समुदायलाई एकताको सूत्रमा बाँधेको उल्लेख गरे । ‘फाल्गुनन्द लिङ्देन र आत्मानन्द लिङ्देनको उपदेशले किरात समुदायलाई एकताको सूत्रमा बाँधेको छ, यो समग्र मानव जातिका लागि राम्रो पक्ष हो’, उनले भने । धर्मगुरु लिङ्देनको जन्मोत्सव धर्मगुरुको मात्र नभई समग्र किरात धर्मको उत्सव रहेको उनले चर्चा गरे ।

धर्मगुरु लिङ्देनको जन्मोत्सव हरेक वर्ष मङ्सिर १८ गते किरात धर्मावलम्बीले उत्सवका रुपमा मनाउने गरेका छन् । मन्त्री राईले धार्मिक सहिष्णुता कायम गर्दै समाजलाई अगाडि बढाउन आग्रह गरे । धर्मगुरु आत्मानन्दलाई किरात धर्मावलम्बीले ‘विश्व शान्ति र मानव एकता’का प्रतीकको रुपमा मान्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार