विराटनगर : कोसी प्रदेशमा नेकपा (एमाले)का हिक्मत कार्की नेतृत्वको सरकार गठन भएको लामो समयपछि मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै सरकारको आलोचना भइरहेका बेला कोसी सरकारले शुक्रबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
वेबसाइटमा सार्वजनिक गरिएको विवरणअनुसार, मुख्यमन्त्री हिक्मत कार्कीको स्थायी ठेगाना गौरादह तथा ललितपुरको महालक्ष्मी नगरपालिकामा दुईवटा घर छन् । ती स्थानमा घरले चर्चिएको जमिन क्रमश: एक कठ्ठा १० धुर र १३२ र २८६ वर्गमिटर जमिन छ । गौरादहको घर मुख्यमन्त्री कार्कीले पैतृक सम्पत्तिको बिक्री र वृद्धिबाट निर्माण तथा गरेको जनाइएको छ ।
ललितपुरको घर भने एभरेस्ट बैंकबाट ९० लाख रुपैयाँ ऋण लिएर निर्माण भएको जनाइएको छ । अघिल्लोपटक मुखयमन्त्री हुँदा २७ चैत २०७९ मा सार्वजनिक गरिएको विवरणमा समेत कार्कीको ऋण ९० लाख नै देखाइएको थियो ।
कार्कीको गौरादहमा पैतृकबापत प्राप्त थप दुई कठ्ठा जमिनसमेत रहेको उल्लेख छ । यसैगरी, विवाहको बेला प्राप्त ६ तोला सुन र १० तोला चाँदी प्राप्त भएको विवरणमा जनाइएको छ ।
मुख्यमन्त्रीको नाममा विभिन्न बैंकमा रहेको नगद मौज्दात एक लाख १६ हजार ६८८ रुपैयाँ रहेको छ । ड्रिमल्यान्ड हाउजिङमा १० हजार कित्ता, सहिद मेमोरिय अस्पताल कंकीमा एक हजार ५०० कित्ता सेयर छ । यसैगरी, श्रीमती अन्जना पाण्डेको नाममा लिभरपुल एजुकेसन नेटकर्व प्रा.लिमा पैतृक सम्पत्ति बिक्रीबाट प्राप्त २१ लाख ३८ हजार ७०० बराबरको सेयर छ ।
ललितपुरमा जग्गा खरिद गर्दा एभरेस्ट बैंकबाट लिएको ९० लाख रुपैयाँ ऋण रहेको कार्कीको सम्पत्ति विवरणमा उल्लेख छ । कार्कीको नाममा गौरादह कृषि तथा पशुपन्छी विकास फार्मको नाममा तीन लाख रुपैयाँको सम्पत्ति छ, जुन हाउजिङ कम्पनीबाट प्राप्त आम्दानीबाट लगानी गरिएको जनाइएको छ ।
कोसीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको इलाम देउमाई नगरपालिकामा वडा नम्बर २ मा पैतृकरूपमा प्राप्त घर छ । यसैगरी, सोही वडाका विभिन्न स्थानमा खरिद गरेको र पैतृकरूपमा प्राप्त ६ ठाउँमा जमिन छ । छ आना सुन र पाँच तोला गहना छ । बैंकमा नगद मौज्दात छैन ।
पुवामाई चिया कम्पनीमा संस्थापक सेयर एक हजार, देउमाई काष्ठ चिरान तथा फर्निचर उद्योगमा १२ लाख मूल्य बराबरको संयुक्त सेयर तथा देउमाई सहकारी संस्थामा दुई कित्ता सेयर छ । मन्त्री मगरको नाममा कृषि विकास बैंकमा ३५ लाख र देउमाई सहकारीमा तीन लाख ५० हजार ऋण छ । घरमा एउटा गाई र पाँचवटा बाख्रा छन् ।
भौतिक पूर्वाधार तथा योजनामन्त्री भुपेन्द्र राईको पैतृकरूपमा प्राप्त खोटाङ दिप्रुङ चुईचुम्बामा दुई वटा माटोले बनेको टिनको छाना भएको घर छ । खोटाङमा १६ ठाउँमा जमिन छ । पन्ध्र तोला सुन र २० तोला चाँदी पैतृकरूपमा प्राप्त छ । विभिन्न बैंकमा एक लाख ४३ हजार नगद मौज्दात छ । विभिन्न १२ वटा कम्पनीको ५०० कित्ता साधारण सेयर छ । मन्त्रीको नाममा विभिन्न व्यक्तिहरूबाट लिएको १० लाख रुपैयाँ ऋण छ । एउटा सेन्ट्रो कार र पुरानो पल्सर बेचेर खरिद गरेको स्कुटी छ । पाँचवटा कुखुरा घरमा छन् ।
यसैगरी, मन्त्री राईले कागती फर्म सञ्चालन गरी ३०० बोटबाट ६ वर्षदेखि आम्दानी गरिरहेको, जडीबुटी र प्रशोधित सुगन्धित तेलको उत्पादन बिक्री गरिरहेको, श्रीमतीले आईएमई सञ्चालन गरिरहेको, श्रीमती सेयर बजारबाट खरिद बिक्रीमा संलग्न रहेको र गैरसरकारी संस्था सञ्चालन गरिरहेको समेत विवरणमा उल्लेख गरेका छन् ।
खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीको अंशबाट प्राप्त जमिनमा झापा बिर्तामोडमा घर छ । अंशबाट प्राप्त सात स्थानमा जमिन छ । साढे दश तोला सुन र १५ तोला चाँदी छ । बैंक तथा वित्तीय संस्थाहरूमा एक लाख ८० हजार नगद मौज्दात छ । सेयर छैन भने एक करोड आठ लाख रुपैयाँ विभिन्न व्यक्ति तथा वित्तीय संस्थाहरूमा ऋण छ । एक थान मोटरसाइकल, चार थान मोबाइल र दुई थान ल्यापटप छ ।