रवि लामिछानेको काठमाडौँमा साढे छ घण्टा बयान, बाँकी आइतबार हुने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने अझै तीन दिनसम्म काठमाडौँ प्रहरीको हिरासतमा रहने भएका छन् । बिहीबार साँझ पोखराबाट काठमाडौँ ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आइतबारसम्म काठमाडौंमा नै रहने भएका हुन्।

शुक्रबार बिहानदेखि शुरू भएको बयान दिउँसो ३ः३० बजे सकिएको छ। आज उनले करिब साढे छ घण्टा लामो बयान दिएका छन् । बिहीबार काठमाडौँ ल्याइएका उनको शुक्रबारबाट बयान शुरू भएको हो।

जिल्ला सरकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको जनाइएको छ।

अब उनको बाँकी बयान आइतबार हुने छ। उनी सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा थिए । काठमाडौँ कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो।

स्वर्णलक्ष्मी सहकारीबाट जीबी राई र रविले लाखौँ रकम लिएको प्रमाण भेटिएको छ। बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन्।

त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ। त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ ।

यसअघि उनका गोर्खा मिडियाका साझेदार पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइएको थियो।  स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छ।

पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवास् र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जीबी राई भने फरार छन्।

अहिले सहकारी ठगीबाहेक जिबी, रवि र छविलगायतविरूद्ध चार वटा कसुर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ। ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर र संगठित अपराधतर्फको अनुसन्धानमा प्रहरीले ९० दिनसम्म थुनामा राख्न सक्ने कानूनी व्यवस्थाले फरार जिबीबाहेक रवि(छविहरूको हिरासत यात्रा लम्बिने देखिन्छ ।

मुख्यतः अहिले जीबी, रवि, छविहरूविरूद्ध पाँच वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। काठमाडौँ, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीका ‘नाइके’ पृष्ठभूमिमा जीबी, रवि र छवि जोशी छन्।

छवि असोज ६ गतेदेखि र रवि कार्तिक २ गतेदेखि प्रहरीको हिरासतमा रहेको भए पनि जीबी भने अझै फरार छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार