इलाम– इलामको ठूलो टुँडिखेलमा मंसिर २२ देखि सञ्चालन हुने दोस्रो संस्करणको इलाम गोल्डकपमा ए–डिभिजनका पाँचसहित आठ टिम सहभागी हुने भएका छन् ।
गोल्डकपमा डिफेन्डिङ च्याम्पियन न्युुरोड टिम, संकटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, भारत दार्जिलिङको जिटिए र आयोजक रेड हर्स सहभागी हुने आयोजकले जानकारी दिएको हो ।
मंसिर २९ मा हुने फाइनल विजेताले उपाधिसहित नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीसमेत पुरस्कृत हुनेछन् ।
८० लाख रुपैयाँ आय–व्यय अनुमान गरिएको प्रतियोगिताका लागि अहिले धमाधम बाँसको प्यारापिट बनाइँदैछ । प्रतियोगिताभर करिब ६० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको आयोजक समितिका निरोज खड्गीले जानकारी दिए ।
उनका अनुसार दर्शकको प्रवेश शुल्क र विभिन्न दाताबाट प्रतियोगिताको खर्च संकलन गर्ने उद्देश्य छ । प्रतियोगिताको मुख्य प्रायोजन गैरआवासीय नेपालीको संस्था (एनआरएन)ले गरेको छ ।
आयोजक अध्यक्ष साङ्गो योल्मोले प्रतियोगिताका लागि तयारी धमाधम भइरहेको बताए । ‘मैदानमा प्यारापिट बनाउँदैछौं, आर्थिक सहयोग संकलन पनि भइरहेको छ,’ उनले भने, ‘गतवर्षको प्रतियोगिता भव्य भएकाले हामी उत्साही छौं ।’
गएको बर्ष विजेताका लागि नगद पाँच लाख र उपविजेतालाई तीन लाख रुपैयाँ पुरस्कार राखिएको थियो । यो साल विजेताको पुरस्कार राशि दोब्बर बनाइ उपविजेताको पुरस्कार पनि बढाइएको हो ।