बुटवल : नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट लिनम्बन गरेको छ । पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्नेलगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको छ । बाँके–१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पुर्वमन्त्री समेत हुन् । लिला गिरी मुख्यमन्त्री हुँदा चौधरी मन्त्री थिए ।
‘जिम्मेवार पदमा बसेका नेताले पार्टीलाई हानी नोक्सानी पुर्याएमा कारबाही हुने विधानको व्यवस्था छ, त्यसैअनुसार निलम्बन गरिएको हो’ बाँके जिल्ला अध्यक्ष निरक गुरुङले भने । बाँके एमालेको जिल्ला सचिवालय बैठक बसेर चौधरीलाई निलम्बनको निर्णय भएको हो ।
एक नेताका अनुसार चौधरी कुनैपनि पार्टी कमिटीमा नरहेकाले बाँके जिल्ला कमिटीले पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय भएको हो । माओवादीबाट एमाले आएका चौधरी यसअघि प्रदेश कमिटी उपसचिव थिए । तर गत वर्ष सम्पन्न प्रदेश अधिवेशनमा उनी उपसचिव पदमा पराजित भए ।
उपसचिव पराजित भएपछि उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको चर्को आलोचना गर्दै आएका थिए । सार्वजनिक आलोचना गरेकै कारण चौधरीलाई बाँके एमालेले स्पष्टीकरण सोधेको थियो ।
‘स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमी कमजोरी प्रति महशुशीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्धमा लिखित जवाफ दिनु भएको हुँदा तपाईलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कार्बाहीको व्यवस्था अनुरुप पार्टी सदस्यबाट निलम्बन गरिएको जानकारी गराउँदछु’, अध्यक्ष गुरुङले पठाएको पत्रमा उल्लेख छ ।
यद्यपि गल्ती सच्याएर आउँदा निलम्बन फुकुवा हुने अध्यक्ष गुरुङले बताए । ‘दुई वर्षसम्म निलम्बनको व्यवस्था छ, तर उहाँले गल्ती सच्याउँछु भन्नुभयो भने फुकुवा भइहाल्छ’,