इलाम : पाटेनागीमा होम स्टे (घरबास) पर्यटन प्रवर्द्धनसम्बन्धी तालिम सुरु भएको छ । पर्यटन कार्यालय काकरभिट्टाको सहयोग तथा इलाम नगरपालिका नगर पर्यटन समितिले तालिम आयोजना गरेको हो ।
तालिमको उद्घाटन गर्दै इलाम नगरपालिका प्रमुख केदार थापाले घरबास पर्यटनसँग पूर्वाधार, आर्थिक, सामाजिक र साँस्कृतिक विकासका पक्ष जोडिने भएकाले यसको प्रवर्द्धनका लागि इलाम नगरपालिकाकोे सहयोग रहने बताए । घरबास पर्यटनले महिलाहरुको आर्थिक विकास र आत्मसम्मान बढाउन सघाउने उनको भनाइ थियो ।
इलामकोे मौलिक खाना, इलामवासीको सत्कार र घुम्नका लागि पाटेनागी पुगेका पर्यटकका लागि आकर्षण हुने उनले बताए । ’नगरको वडा नम्बर ३ मा थालिएको कार्यक्रम र यसको सिकाइ इलाम नगर भित्र मात्र नभएर इलला भर विस्तार गर्न सकिन्छ,’ उनले भने “घरबास पर्यटन एउटा सम्भावना बोकेको कार्यक्रम हो ।’
दुई दिनसम्म सञ्चालन हुन् तालिममा सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु सञ्चालन हुने पर्यटन कार्यालय काकरभिट्टाका प्रमुख छबिलाल खतिवडाले बताए । उनका अनुसार सहभागीलाई पर्यटन र यसका पक्ष, होम स्टे प्रवर्द्धन र बजारीकरण, पर्यटन प्रवर्द्धनका साधन र उपयोग, नेपालको सन्दर्भमा होम स्टे, होम स्टेसम्बन्धी कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार र सेवा लगायतका विषयमा सैद्धान्तिक ज्ञान दिइनेछ । त्यसैगरी सफल होम स्टेका व्यावसायिक सफलताका कथा, होम स्टे सञ्चालन र व्यवस्थापन, पाहुनाको स्वागत र बिदाइ सत्कार, स्थानीय पर्यटकीय स्थल र सम्पदासँग होम स्टेको सम्बन्ध लगायत विषयलाई पनि सैद्धान्तिक ज्ञानको विषयमा राखिएको उनले बताए । पाटेनागीँमा ३० जनालाई पर्यटनसम्बन्धी आधारभूत तालिममा सहभागी गराइएको जानकारी दिइएको छ ।