काठमाडौं : सरकारले सुनमा लाग्ने भन्सार महसुल घटाएको छ । मंसिर ६ गते मन्त्रिपरिषद्को बैठकले यस्तो महसुल आधा बनाएको हो ।
यसअघि सुनमा २० प्रतिशत भन्सार महसुल लाग्दै आएकामा अब १० प्रतिशत बनाइएको छ । सुनमा भन्सार दर चालु आर्थिक वर्षको बजेटमार्फत बढाइएको हो।
सुनमा भन्सार बढाउँदा सुन नेपालमा महँगो भइ तस्करीलाई प्रश्रय पुगेको थियो।
नेपाली सुन चाँदी व्यवसायीले सुनको भन्सार महसुल घटाउन माग गर्दै बिरोध प्रदर्शनसमेत गर्दै आएका थिए ।
भारतले पनि चालु आवको बजेटमार्फत सुनचाँदीको भन्सार दर घटाएको थियो । जसकारण त्यहाँ सुनका गहना २५% सम्म सस्तो पर्न थालेको थियो ।
भन्सार विभागका अनुसार नेपालमा युएई, बहराइन, सिंगापुर, ब्रुनाई, साउदी अरब, हङकङ, कुवेत, कतार, ओमान, अमेरिका, बेलायत, टर्की, केन्या, भारत, डेनमार्क, युक्रेन, इटली, चीनलगायत २० भन्दा बढी देशबाट सुन आयात हुन्छ। यस्तै भारतमा समेत यी देशहरु बाटै सुन आयात हुने व्यवसायीहरु बताउँछन् ।
नेपाल र भारतीय सीमावर्ती बजारमा सुनको मूल्य ठूलो अन्तरले फरक पर्दा सुनको तस्करी बढी औपचारिक माध्यमबाट सुन आयात घटेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आवको कात्तिक मसान्तसम्म मात्रै १ अर्ब ४२ करोड रूपैयाँको सुन आयात भएको छ । सुनको आयात घटी सर्वाधिक आयात हुने वस्तुको सूचीबाट समेत हराएको छ ।
सुनमा भन्सार दर घट्दा नेपाली बजारमा पनि सुन सस्तिनेछ । नेपालमा सुनकोभाउ भारतीय बजारमा झैं भए तस्करीलाई निरूत्साहन गर्ने अनुमान व्यवसायीले लगाएका छन् ।
मन्त्रिपरिषद्को बैठकले चाँदीमा लाग्दै आएको भन्सार दर पनि घटाएर १५ बाट १० प्रतिशतमा झारेको छ ।