इलाम : उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्ने भएको छ।
आइतबार बसेको बैठकले निर्वाचनका लागि मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिने र मतदाताका लागि मतदान गर्न सहज वातावरण बनाउनेबारे निर्णयहरू गरेको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।
आयोगले मंसिर १३ गतेदेखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान वा अन्य सार्वजनिक स्थलहरू निर्वाचनका लागप उपयोग गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयमार्फत निर्देशन दिन अनुरोध गरेको छ।
त्यस्तै प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको निर्वाचन हुने ठाउँमा स्थानीय तहभर र वडाध्यक्षको निर्वाचन हुने ठाउँमा वडाभर बिदा मिलाउन पनि मन्त्रालयलाई लेखेर पठाउने निर्णय भएको हो।
आयोगले उपनिर्वाचनमा सहभागी गराउन मतदाताहरूलाई बिदाको सुविधा दिन पनि आह्वान गरेको छ।