एमाले इलामको जिल्ला अध्यक्ष भट्टराई, बराल र दुलाल मध्ये को बन्ला?

इलामः  उपनिर्वाचनका कारण पछि धकेलिएको नेकपा एमाले इलामको जिल्ला अधिवेशन शुरु हुन अब तीन दिन मात्रै बाँकी छ । यतिबेला सत्तामा रहेको एमाले इलाम जिल्ला अधिवेशनको पूर्वतयारीसंगै नेतृत्व हत्याउने कसरतमा आकाँक्षीहरु कम्मर कसेर लागेका छन् । एमालेको ११ औं जिल्ला अधिवेशन कार्तिक २९ र ३० गते सदरमुकाममा हुँने निश्चित भए पश्चात जिल्लामा तीन जना नेताहरुको अध्यक्ष बन्ने चर्चा चुलिएको छ । इलामको राजनीतिमा लामो समय एकछत्र नेतृत्व गर्दै आएका पूर्व प्रधानमन्त्री झलनाथ खनाल हाल नेकपा(एस) पार्टीमा रहेका र अर्का प्रभावशाली नेता सुवासचन्द्र नेवाङको निधन भएपछि पनि इलामका दुवै संघीय क्षेत्र आफ्नो पकडमा पारिरहेको एमालेलाई पछिल्लो समयमा सहमतिको बाटोबाट नेतृत्व चुन्न भने हम्मेहम्मे परेको छ ।

अधिवेशन आयोजक कमिटीका अध्यक्ष गणेश बराल, नरेन्द्र भट्टराई र डा. देवी क्षेत्री दुलाल अध्यक्ष पदका लागि प्रतिष्पर्धामा  होमिने चर्चा छ । भट्टराई हाल केन्द्रीय सल्लाहकार समितिका सदस्य र डा. दुलाल जिल्ला सचिवालय सदस्य हुन् । अध्यक्षका दावेदार बराल जिल्ला समन्वय समिति इलामका पूर्वसभापति हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा सक्रिय राजनीति गर्ने र  पार्टीको नेतृत्व गर्ने चर्चा आएसंगै एमालेको हरेक तहको अधिवेशनमा गुट-उपगुट शुरु भएको पार्टी निकट श्रोतले जनाएको छ ।

यसैको प्रभावका कारण पनि इलाममा एमालेको जिल्ला अधिवेशनमा कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ । बौद्धिक नेताका रुपमा चिनिएका दुलाल विभिन्न तहमा पार्टीबाट नेतृत्व लिने प्रत्यनमा विगतदेखि लागि परेका छन् भने लामो समय पार्टीमा आफ्नो योगदान गरेका भट्टराई आँफुले एक पटक पनि जीवनको उत्तरार्धसम्म अवसर नपाएको दुःखेसो गर्दै यसपटक अनुभव र इमान्दारीताका साथ अध्यक्ष बनेर  जिल्लामा पार्टीलाई अगाडी बढाउने कसरतमा छन् । यता, बराल पनि शालिन,भद्र र मिजासिलो नेताको रुपमा कहलिएसंगै त्रिपक्षीय भिडन्त हुने भएको छ । यस पटक एमाले इलामको नेतृत्वमा कस्ले बाजी मार्ला त भन्ने निर्णायक भुमिका भने जिल्लाको १० वटा स्थानीयतहका १० हजार ४९१ पार्टी सदस्यबाट चुनिएका ५८६ जना जना प्रतिनिधिहरु  छन् । अब उनीहरुबाट पाँच पदाधिकारी सहित १२५ सदस्य कमिटी निर्माणका लागि निर्वाचन हुँदैछ  । त्यसपछि एमालेको नेतृत्व चयनको रोचक प्रतिष्पर्धाको परिणाम आउनेमा सबैको चासो बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार