इलाम : सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले इलामको जिल्ला अधिवेशन यहि कात्तिक २९ र ३० गते हुँदैछ । एमालेको ११ औँ अधिवेशनका लागि कात्तिक २१ गते एकैपटक प्रतिनिधि छनौटको काम सकिएको छ । फाकफोकथुम ७, चुलाचुली गाउँपालिका ४ र इलाम नगरपालिका ९ वडामा चुनावबाटै प्रतिनिधि छनौट भए ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ जना गरि ५ जना पदाधिकारी सहित १ सय ५ जनाको जिल्ला कमिटी एमालेको ११ औँ जिल्ला अधिवेशनले चयन गर्नुपर्नेछ । इलामका १० स्थानीय तह, तीन इलाका कमिटी, एक शाखा कमिटी र २१ जनवर्गीय संगठनबाट प्रतिनिधि छनौट भएका छन् ।
प्रतिनिधि छनौटका लागि सबै नेता तथा कार्यकर्ता आफ्नो वडामा खटिएका थिए । अधिवेशनका लागि ५ सय ८६ जना प्रतिनिधि छनौट हुने मापदण्ड रहेको छ ।
जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधि छनौट भइसकेपछि जिल्ला कमिटी, पदाधिकारीका आकाक्षिहरुको चर्चा हुन थालेको छ ।
इलामको गौतमवुद्धसभा गृहमा संचालन हुने ११ औँ जिल्ला अधिवेशनमा सचिव पदमा रबिन्द्र सुवेदी र प्रकाश अधिकारीको भिडन्त प्रायः निश्चित छ । प्रकाश अधिकारी इलाम नगरपालिका ९ बाट चुनावी प्रतिस्पर्धा गरि जिल्ला अधिवेशनमा प्रतिनिधि छनौट भएर आएका छन् भने रबिन्द्र सुवेदी देउमाई नगरपालिका ६ बाट सर्वसम्वत प्रतिनिधि छनौट भएका छन् । यी दुवैजनाबिच कुनै राजनीतिक चमत्कार नभए ११ औँ अधिवेशनमा एमालेको जिल्ला सचिवमा प्रतिस्पर्धा हुनेछ ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववीयुबाट २०४५ सालमा राजनीतिक यात्रा शुरु गरेको प्रकाश अधिकारी र २०४७ सालमा जन्मिएका रविन्द्र सुवेदीको प्रतिस्पर्धा रोचक हुनेछ । १० औँ जिल्ला अधिवेशनमा सचिव पदमा उमेद्धवारी दिएका प्रकाश अधिकारी ११ औँ अधिवेशनमा जित निकाल्ने योजनामा छन् । ११ औँ अधिवेशनमा रविन्द्र सुवेदी जिल्ला उप सचिवमा निर्वाचित भएका थिए ।
अनुभव र अभावका बिचमा नेतृत्व गर्ने कलामा अब्बल रहेका प्रकाश अधिकारी र विद्यार्थी संगठन हुँदै पार्टीको पदाधिकारीमा पगेका रविन्द्र सुवेदी बिचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।