इटहरी : जनता समाजवादी पार्टी, नेपालले प्रदेश १ मा जारी कोशी नाम खारेजी आन्दोलनलाई वस्तुगत अवस्थाका आधारमा सशक्त बनाउने निर्णय गरेको छ । जसपा नेपालले पार्टीका सह–अध्यक्ष रकम चेम्जोङको संयोजकत्वमा गठन गरेको प्रदेश नम्बर १ पुनः नामाङ्कन आन्दोलन परिचालन एवम् समन्वय समितिको शनिबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
जसपा नेपाल प्रदेश १ को कार्यालय इटहरीमा सम्पन्न समितिको बैठकले मंसिर २ गते कोशी नाम खारेजीका लागि संघर्षरत संयुक्त संघर्ष समितिको आयोजनामा हुने जनप्रदर्शनमा पार्टीको तर्फबाट व्यापक जनपरिचालन गर्नेसमेत निर्णय गरेको हो । ‘जनप्रदर्शन सफल पार्न जसपा नेपालले पार्टीका सबै तहलाई उपस्थितिका लागि आग्रह गर्ने निर्णय भएको छ । त्यस दिनको कार्यक्रममा पार्टीको तर्फबाट वक्तासमेत चयन गरेर पठाउने तय भएको छ’, समितिका सदस्य एवम् जसपा नेपालका प्रदेश १ अध्यक्ष दिपक याक्खाले भने –‘वक्ता तोक्ने जिम्मा संयोजकज्यूलाई दिएका छौँ ।’
बैठकमा चेम्जोङ संयोजकत्वको समितिका सदस्यहरु पार्टीका केन्द्रीय सचिवद्वय राजकुमार राई र ल्हाक्पा शेर्पा, केन्द्रीय कार्यकारिणी समिति सदस्य जयराम यादव, केन्द्रीय सदस्य कुन्ता राई, लिम्बुवान, किरात, शेर्पालुङ र मधेश राष्ट्रिय समितिका अध्यक्षलगायत सहभागी थिए ।
पार्टीका तर्फबाट जनप्रदर्शनका लागि अध्यक्ष याक्खाकै संयोजकत्वमा जसपा नेपालका केन्द्रीय सदस्यहरु भगिरथ खत्वे, कुन्ता राई, प्रदेश १ का मुख्यसचिव घनश्याम कट्वाल, मधेश राष्ट्रिय समितिका अध्यक्ष तुलसी राजवंशी, लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव सञ्जय राई, मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव, डि.के. राई र रामचन्द्र मेहता सदस्य रहेको जनपरिचालन एवम् व्यवस्थापन समिति गठन भएको छ ।
जसपा नेपालले प्रदेश १ मा चलिरहेको पुनः नामाङ्कन संयुक्त संघर्ष समितिलाई वडास्तरसम्म विस्तार गर्न सुझाव पेश गर्ने साथै संघर्ष समितिले प्रस्ताव गरेको तेस्रो जनआन्दोलन र समानान्तर सत्ता तयारीको कार्यक्रमलाई हालको अवस्थामा समर्थन गर्न नसकिने निर्णय गरेको हो ।