उपाधिका लागि योङहाङ एफसी र हिलिहाङ एफसी भिड्दै

माङसेबुङ :  इलामको माङसेबुङ गाउँपालिका-२ इभाङमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि योङहाङ एफसी र हिलिहाङ एफसी  भिड्दैछन् ।

आज (शुक्रबार) दिउँसो २ बजे इभाङ माविको खेलमैदानमा हुने फाइनलमा माङसेबुङ गाउँपालिका-२ को योङहाङ एफसी र माई नगरपालिका-६ को हिलिहाङ एफसी आमनेसमाने हुँदैछन् । उपाधि दावेदार मानिएको दुवै टिमबिचको खेल प्रतिष्पर्धात्मक र रोचक हुने दर्शकहरुको अनुमान छ ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा माङसेबुङ गाउँपालिका-३ को हिलिहाङ टोल विकास संस्थालाई १-० को झिनो अन्तरमा रोक्दै योङहाङ एफसी उपाधिनजिक पुगेको थियो । दोस्रो सेमिफाइनलमा माङसेबुङ गाउँपालिका-२ कै पावा एफसी विरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै हिलिहाङ एफसीले अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

प्रतियोगिताको विजेताले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजारसहित ट्रफि पाउनेछन् ।

स्थानीय बोझोला इन्द्रेणी क्लब पावाको आयोजनामा गत १४ कात्तिकदेखि जारी प्रतियोगितामा इलामको माङसेबुङ गाउँपालिकासहित छिमेकी फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र मोरङका गरी २८ वटा टिमले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार