निरीक्षकले फेल गराएका विद्यार्थी भए पास

खोटाङ : एसईई परीक्षामा निरीक्षकको लापरबाहीमा फेल गराएका विद्यार्थी पास भएका छन् । २०८० को एसईई परीक्षमा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माविका विद्यार्थी शिवकुमार राईको उत्तरपुस्तिका कोरेर फेल भए पनि राष्ट्रिय परीक्षा बोर्डले पास गरेको सूचना प्रकाशति गरेको हो ।

राईले २०८० चैत २० गते पृथ्वी मावि बाक्सिला केन्द्रमा भएको अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षाको उत्तरपुस्तिका निरीक्षकले नियतबस कोरेर फेल भएपछि राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा पुनःपरीक्षण गराएपछि नतिजा सुधार भएको उनका बाबु परशुराम राईले बताए । उनका अनुसार ०८१ असार १४ गते प्रकाशित एसईई परीक्षाको नतिजामा अनुत्तीर्ण भएपछि राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा रिटोटलिङ गर्दासमेत नतिजा सुधार नभएकाले ०८१ भदौ १७ गते उत्तरपुस्तिका हेर्न पाउ भनि निवेदन दिएको र उत्तरपुस्तिका हेर्दा निरीक्षकले नियतबस उत्तरपुस्तिकामा १० वटा क्रस चिह्न लगाएको पाइएकाले असोज १३ गते उत्तरपुस्तिका पुन: परीक्षणका लागि निवेदन दिएपछि कात्तिक ४ गते प्रकाशित सूचनाअनुसार नतिजा सुधार भएको हो ।

नतिजाअनुसार शिवकुमारले ३.४५ जीपीए ल्याएका छन् । पूरक परीक्षामा भने उनको जीपीए ३.५५ थियो । अब भने पछिल्लो नतिजा कायम हुने छ ।

परीक्षाको नतिजा सुधारपछि शिवकुमार पालिकाकै सबैभन्दा बढी जीपीए ल्याउने विद्यार्थी घोषित भएका छन् । छात्रातर्फ पनि थर्पुडाँडा माविकै क्याल्सी राईले ३.३९ जीपीए ल्याएर छात्रातर्फको उत्कृष्ट घोषित भएकी छन् ।

केपिलासगढी गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट नम्बर ल्याएर उत्तीर्ण हुने छात्र–छात्रालाई एक–एक लाख रूपैयाँ दिने घोषणा गरेपछि थर्पुडाँडा माविका विद्यार्थीलाई फेल गराउन नियतबस उत्तरपुस्तिका कोरेको राईको दाबी छ । नियतबस परीक्षा बिगार्ने निरीक्षकलाई कारबाहीको माग गर्दै असोज २२ गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकले उजुरीसमेत दिएको राईको भनाइ छ ।

‘अरु केही होइन, केपिलासगढी गाउँपालिकाले उत्कृष्ट जीपीए ल्याउने एक–एक जना छात्र–छात्रालाई एक लाख रूपैयाँका दरले पुरस्कृत गर्ने भएपछि थर्पुडाँडा माविका विद्यार्थीलाई बिगार्ने नियतले कापी कोरेको हो,’ राईले भने, ‘त्यसैले दोषीलाई कारबाही हुनु पर्छ भनेर हामीले जिल्ला प्रशासन, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हौं ।’

-डम्बरसिंह राई/इकान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार