इलाम : चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट भारतमा चिया निर्यात ३० प्रतिशतभन्दा धेरैले बढेको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार साउन, भदौ र असोजमा गरी ६२ लाख ६१ हजार किलोभन्दा धेरै सीटीसी चिया निर्यात हुँदा एक अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै आम्दानी भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा ४७ लाख किलोभन्दा केही बढी सीटीसी चिया भारतमा निर्यात गर्दा एक अर्ब १० करोड रुपैयाँ आम्दानी भएको थियो ।
यस वर्ष चियाकाे भाउ बढेका कारण निर्यात ३० प्रतिशतले बढ्दा आम्दानी झन्डै ५० प्रतिशतले बढेको छ । भारतमा चिया उत्पादन घटेकाले नेपाली चियाको माग र भाउ दुवै बढेको चिया सहकारी सङ्घ लिमिटेड नेपालका अध्यक्ष हर्कबहादुर तामाङले बताए । उनका अनुसार अघिल्लो वर्ष किलोको ९० देखि एक सय रुपैयाँमा निर्यात गरेको चियाले यस वर्ष एक सय ६० देखि एक सय ६५ रुपैयाँ भाउ पाएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार नेपालमा झन्डै २४ हजार हेक्टरमा चिया खेती हुने गरेको छ । सीटीसी, अर्थर्डक्स र ग्रीन टीसहित नेपालमा वर्षेनि दुई करोड किलोभन्दा धेरै चिया उत्पादन हुन्छ ।
अघिल्ला वर्षहरूमा भारतमा आयातमा कडाइ गर्दा बिक्री गर्न समस्या हुने गरेकोमा यस वर्ष भारतमा उत्पादन घटेर माग बढ्दा नेपालबाट बिक्रीसँगै भाउ पनि बढेको छ ।