माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ इभाङमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत माङसेबुङ गाउँपालिका-२ को योङहाङ एफसी, माई नगरपालिकाको हिलिहाङ एफसी, माङसेबुङ गाउँपालिका-३ को हिलिहाङ टोल विकास संस्था र माङसेबुङ गाउँपालिका-२ को पावा एफसी सेमिफाइनल प्रवेश गरेका छन् ।
बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा माङसेबुङ गाउँपालिका-२ को चित्रे एफसीलाई ५-१ गोलको फराकिलो अन्तरमा पराजित गर्दै योङहाङ एफसी सेमिफाइनल प्रवेश गरेको हो ।
दोश्रो क्वाटरफाइनल खेलमा माङसेबुङ गाउँपालिका-३ को मान्द्रे एफसी विरुद्ध ४-१ को सहज जित निकाल्दै हिलिहाङ एफसीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
त्यसैगरी तेश्रो क्वाटरफाइनल खेलमा इभाङ तीन एफसीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरमा पराजित गर्दै हिलिहाङ टोल विकास संस्थाले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरी भएपछि टाइब्रेकरको आधारमा विजेता निर्धारण गरिएको थियो ।
त्यस्तै अन्तिम क्वाटरफाइनल खेलमा देउमाई नगरपालिका-५ को वरभञ्ज्याङ एफसीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरमा पराजित गर्दै पावा एफसी सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
प्रतियोगिता अन्तर्गत दुवै सेमिफाइनलका खेल भोलि (बिहीबार) सञ्चालन हुनेछन् । फाइनल प्रवेशका हुने पहिलो सेमिफाइनल खेलमा योङहाङ एफसी र हिलिहाङ टोल विकास संस्था तथा दोस्रो सेमिफाइनल खेलमा हिलिहाङ एफसी महमाई र पावा एफसीबिच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजारसहित ट्रफि पाउनेछन् । स्थानीय बोझोला इन्द्रेणी क्लब पावाको आयोजनामा जारी प्रतियोगिता इभाङ माध्यमिक विद्यालयको खेलमैदानमा भईरहेको छ ।
प्रतियोगितामा इलामको माङसेबुङ गाउँपालिकासहित छिमेकी फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र मोरङका गरी २८ वटा टिमले सहभागिता जनाएका थिए ।