
पाँचथरः शुभ दीपावलीको अवसर पारेर घुर्विसे पञ्चमीमा आयोजित ‘हाङ पृथीसिं पुरुष नकाउट फुटबल प्रतियोगिता २०८१’ फक्तालुङ एफसी मिक्लाजुङले जितेको छ।
फाल्गुनन्द गाउँपालिका ५ घुर्बिसे पञ्चमीको खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा फाक्तेप फुटबल क्लबलाई ४–२ गोलको अन्तरले पराजित गर्दै फक्तालुङ एफसीले उपाधि हात पार्न सफल भएको हो । खेलमा बेष्ट प्लेयर,बेष्ट डिफेन्डर र बेष्ट गोलकिपर फक्तालुङकै ओसन लिम्बु,सागर लिम्बु र राजन लिम्बु घोषित भए भने, हाई स्कोरर लुङ्मादिन एफसीका पुजन राई घोषित भएको आयोजक संस्थाका सचिव बृजहाङ चेम्जोङले जानकारी दिए ।

उपाधिसँगै फक्तालुङले नगद ७० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता फाक्तेप एफसीलाई नगद ४० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र दिइएको छ ।
शुभ दिपावली तथा बलिहाङ तङ्नामका अवसरमा कात्तिक ५ गतेदेखि सुरु भइ १४ गते सम्पन्न भएको प्रतियोगितामा इलाम र पाँचथरका २६ खेल समूहको सहभागिता थियो। स्थानीयबासी र यस क्षत्रेबाट हाल विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेका महानुभावहरुको सहयोगबाट खेल संचालन गरिएको जनाइएको छ । २०७१ सालमा स्थापना भएको यस हाङ पृथी सिं युवा क्लबले हरेक किसिमका सामाजिक कार्यहरुमा सहभागिता जनाउँदै आएको छ भने, प्रत्येक वर्ष यसै अवसरमा खेलकुदसमेत संचालन गर्दै आएको क्लबका अध्यक्ष सन्दिप चेम्जोङले बताए ।






















































