सरस्वती मा.बि.को ६९औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न,पूर्वशिक्षक गुणराज चापागाईंद्वारा अक्षयकोष स्थापना

इलाम : इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङस्थित सरस्वती माध्यमिक विद्यालयका पूर्वशिक्षक गुणराज चापागाईंले विद्यालयलाई ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिने भएका छन् ।

आफ्ना दिवंगत बुबा उमाकान्त र आमा लीलादेवीको स्मृतिमा पूर्वशिक्षक चापागाईंले विद्यालयलाई अक्षयकोष स्थापना गरिदने घोषणा गरेका हुन् ।

विद्यालयको ६९औं वार्षिकोत्सव अवसरमा पूर्वशिक्षक चापागाईंले अक्षकोष घोषणा गरेको प्रधानाध्यापक टेकराज तामाङले जानकारी दिए । तामाङका अनुसार घोषित अक्षयकोषको कार्यविधि तयार गरी कार्यान्वयन गरिनेछ ।

स्थानीयसमेत रहेका चापागाईंले आधारभूत शिक्षा यही स्कुलबाट हासिल गरेका थिए भने करिब तीन दशक यस विद्यालयमै सामाजिक विषय शिक्षकका रूपमा अध्यापन गरेका थिए ।

विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्न छात्रवृत्तिका लागि कोष स्थापना गर्न सहयोग गरेको पूर्वशिक्षक चापागाईंले बताए ।

यसैबीच, इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङस्थित सरस्वती माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।

१२ कात्तिकमा सुरु वार्षिकोत्सवका कार्यक्रम समापन गरिएको हो । वार्षिकोत्सव अवसरमा पूर्वशिक्षकलाई सम्मानसमेत गरिएको छ । यो विद्यालयको करिब साढे तीन दशक प्रधानाध्यापकको जिम्मेवारी सम्हालेर अवकाशप्राप्त रोमप्रसाद आचार्य, अवकाशप्राप्त शिक्षकहरू तिलविक्रम घिमिरे, दुर्गाप्रसाद चापागाईं, गुणराज चापागाईं, हस्तबहादुर देवान, टीकाबहादुर खत्री र काजीबहादुर खड्का सम्मानित भएका हुन् ।

स्कुलका जग्गादाता बलबहादुर खत्री र विद्यालय कर्मचारी मनबहादुर खत्रीलाई पनि त्यस अवसरमा सम्मान गरिएको छ । एसइईमा सर्वाेत्कृष्ट अंक ल्याउने मनिका राईलाई तिलकराज तामाङ छात्रवृत्ति वितरण गरिएको छ । थलङ छात्रवृत्ति जेहेन्दार विद्यार्थीहरु नम्रता सञ्जेल र रुवि मगरलाई प्रदान गरिएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार