
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई मेन्स यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र मधेस प्रदेश विजयी भएका छन् ।
प्रतियोगिताअन्तर्गत मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेट हराएको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको कर्णालीले ३० ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७४ रन मात्रै बनाउन सफल भयो । जसमा मनिष थापाले ४२ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । सुदूरपश्चिमका नरेन साउदले ५, अशोक धामीले २, कैलाश ऐर, युवराज खत्री र सचिन भट्टले १–१ विकेट लिए ।
७५ रनको लक्ष्य पाएको सुदूरपश्चिमले १८ ओभर १ बलमा ५ विकेट गुमाउँदै ७६ बनाएर विजयी भयो । नरेन भट्टले २८, युवराज खत्रीले २३ रन बनाए । कर्णालीका युनिस ठकुरीले ३ विकेटले लिए ।
खेलको प्लेयर अफ द म्याच सुदूरपश्चिमका नरेन साउद भए । सुदूरपश्चिमले २ खेलबाट २ अंक जोडेको छ भने कर्णाली २ खेलमा अंकविहीन छ ।
त्यस्तै, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा मधेस प्रदेशले बागमती प्रदेशलाई ४६ रनले पराजित गरेको छ ।
बागमतीले टस जितरे मधेस प्रदेशलाई पहिलो ब्याटिङको अवसर दिएको थियो । मधेसले ब्याटिङ गर्दै ४६ ओभर ३ बलमा सबै विकेटको क्षतिमा १४२ रन बनायो । इमरन सेखले ५४, रोशन साहले ३० र राजेश यादवले १५ रनको योगदान गरे । बागमतीका दयानन्द मण्डलले ३, दीपक सेरलाले २, गोकुल अधिकारी, राजेश बोहरा, दिनेश विष्ट र रोशन विश्वकर्माले १–१ विकेट लिए ।
१४३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बागमतीले ३९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९६ रनमै सीमित भयो । रिङजिङ लामाले ३५, राजेश बोहराले १८ र आर्यन क्षेत्रीले १३ रन बनाए । मधेसका अफ्रुदिन राइन र राजेश यादवले ३ तथा अभिषेक तिवारी र रन्जित कुमारले २–२ विकेट लिए ।
प्लेयर अफ द म्याच मधेसका इमरन सेख भए । मधेस ३ खेलबाट ४ अंक प्राप्त गरेको छ भने बागमती २ खेलबाट २ अंक जोडेको छ । अंक तालिकामा मधेस र लुम्बिनी प्रदेशको समान ४–४ अंक छ । कर्णाली अंकविहीन भइरहँदा अन्य प्रदेशले २–२ अंक जोडेका छन् ।
बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कर्णाली र लुम्बिनी प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा गण्डकी र कोशी प्रदेशबीच खेल हुनेछ ।