माङसेबुङ-२ पावामा क्लबस्तरीय फुटबल प्रतियोगिता सुरु

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ पावामा बिहीबारदेखि माङसेबुङ क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।

सुनुयुमा विकास संस्था माङसेबुङ-२ पावाको आयोजनामा सुरु भएको प्रतियोगिता अन्गर्तग बिहीबार दुघ खेल सम्पन्न भएका छन् ।

उद्घाटन खेलमा पावा एफसीलाई टाइब्रेकरमा ५-४ गोल अन्तरमा पराजित गर्दै जनसाहित्य क्लब माङसेबुङ-२ अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकसम्म पुगेको थियो ।

टाइब्रेकरमा विजेता जनसाहित्यका सन्दिप पोर्तेल, गोकर्ण कार्की, सुरेश लावती, प्रवेश लिम्बू र तान्छोहाङ लिम्बूले गोले गरे । उता पावाका तर्फबाट भने निसान राई, सुमन राई, दिनेश लिम्बू र अर्पण लिम्बूले मात्र गोल गरे ।

दोस्रो खेलमा खलङ्गे एफसी माङसेबुङ-३ लाई ३-१ गोल अन्तरमा पराजित गर्दै टेलिटार एफसी माङसेबुङ-२ विजयी बन्यो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार बोझोला इन्द्रेणी एफसी माङसेबुङ-२ पावा र युवा तथा खेलकुद माङसेबुङ-१ तथा दोस्रो खेल निवाङ्सो क्लब माङसेबुङ-२ र माङमालुङ एफसी माङसेबुङ-६ बाँझोबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति इलाम प्रमुख जयप्रकाश राईले गरे । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख राईले खुलकुदका माध्यमबाट सामाजिक सद्भभाव र एकता कायम गर्नुपर्नेमा जोड दिए ।

प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजारसहित ट्रफि पाउनेछन् ।

स्थानीय पावा खेलमैदानमा पजारी प्रतियोगिताको फाइनल असोज ३० गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार