इलाम : झरीसँगै सडक माथिबाट खसेको पहिरोका कारण इलाम बिब्ल्याटे, मावु सडक अवरुद्ध भएको छ । सुलुबुङ स्थित मावु हाइड्रो छेउमा पहिरो गएका कारण सडक अवरुद्ध भएको इलाम प्रहरीले जनाएको छ ।
यस्तै निरन्तरको वर्षाका कारण नावा खोला बढेसँगै तमोर करिडोरको धनकुटा-पाँचथर खण्डमा दर्जनौं सवारी र यात्रु अलपत्र परेका छन् । धनकुटा र पाँचथरलाई सिमाना छुट्याएर बग्ने नावा खोलामा बिहानैदेखि पानीका बहाव बढ्दा धरान-विराटनगर ओहोरदोहोर गर्ने सवारी साधनसँगै यात्रु अलपत्र परेका हुन् ।
नावा खोला पारि धनकुटातर्फ दुई दर्जन र खोलावारि पाँचथरतर्फ एक दर्जन दुईपांग्रे र चारपांग्रे साधन अलपत्र पर्दा डेढ सय हाराहारी यात्रु बाटोमै रोकिएको स्थानीयले बताएका छन् ।
तमोर करिडोरमा पर्ने नावा खोलासँगै छरुवा र रगुवा गरी तीनवटा खोलामा पुल बनेका छैनन् । अन्य खोलामा यातायात चलिरहे पनि नावा खोलाबाट बिहानैदेखि सवारी साधन वारपार हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हेमन्त भण्डारीले जानकारी दिए ।
पानी पर्न थालेपछि खोलामा जोखिम हुन्छ भन्ने पूर्वसूचना पाएर पनि यात्रु स्वयं यो बाटो भएर आँउदा समस्या झेल्नु परेको प्रहरीको भनाइ छ । धरान र विराटनगरबाट पाँचथर र ताप्लेजुङ आउजाउ गर्न छोटो दूरी हुने भएकाले यात्रुले यो सडक उपयोग गर्दै आएका छन् ।