काठमाडौं : अखिल नेपाल बुद्धिचाल सङ्घको आयोजनामा प्रथम एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति प्रथम राष्ट्रिय भेट्रान च्याम्पियनसिप बुद्धिचाल खेल बुधबारबाट काठमाण्डौमा सुरु भएको छ ।
प्रथम राष्ट्रिय भेट्रान चेस प्रतियोगिताको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले समुद्घाटन गरे । खेल समारोहमा पूर्व प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रीक गणतन्त्रपछि मात्र खेल क्षेमा ब्यापक रकम बिनियोजन हुन थालेर अन्तराष्टिय क्षेत्रमा नेपाली खेलाडीको खेल सहभागिता हुने क्रम बढेको र पद जित्ने क्रम उल्लेख्य सुधार हुन थालेको बताए । पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्नो राजनैतिक क्षेत्रमा रहेको बेला दुइ ओटा महत्वपुर्ण मध्येको खेल विकास गर्ने र अर्को साँस्कृतिक क्षेत्रको प्रर्बद्धनमा ध्यान दिएको बताए ।
प्रतियोगितामा अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष तथा राखेपका पूर्व उपाध्यक्ष शिव कोइराला ज्वाला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क लाल घिसिङ, राखेपका पूर्व सदस्य सचिव युवराज लामा र समाजसेवी सावित्री अधिकारीले खेल प्रगतिके शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी अखिल नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष तथा नेपाल उसु सङ्घका महासचिव नवराज ढुङ्गानाका साथमा नेपाल बुद्धिचाल सङ्घका सचिव मोनालिसा खुम्बुको पनि उपस्थिति रहेको थियो ।
नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष तथा अखिल नेपाल बुद्धिचाल सङ्घका संयोजक दिपेन राईको सभापतित्वमा कार्यक्रम भएको थियो भने आयोजक कमिटीका सदस्य तथा नेपाल बुद्धिचाल सङ्घका सदस्य बबी देवल पुनले खेल उद्घाटन कार्यक्रमको सञ्चालन गरेका थिए ।
प्रादेशिक छनोटमा उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको छ । स्विस लिग प्रणालीमा २ दिन सञ्चालन हुने प्रतियोगितामा सात ओटै प्रदेसका जम्मा ४२ जनाको सहभागिता छन् । ३ चरणको समाप्तिमा विलम लाल श्रेष्ठ, पुण्यमान कर्माचार्य र पूर्ण राज खड्काले शतप्रतिशत अङ्क जोडेका छन् ।
प्रतियोगितामा पूर्व राष्ट्रिय च्याम्पियन बद्री लाल नेपाली, नवीन तुण्डकार र पुण्यमान कर्माचार्य पनि प्रतियोगितामा सहभागी छन् । प्रतियोगिताको मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजु छन् । एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ नेपाल बुद्धिचाल सङ्घका पूर्व उपाध्यक्ष हुन् । उनकै प्रयासमा नेपालमा पहिलो पटक फिडे रेटिङ प्रतियोगिता भएको थियो ।
नेपालको पायनियर चेस क्लब मखन चेस क्लबको विकासमा ठुलो भूमिका रहेका श्रेष्ठ ओलम्पियाड खेलाडी समेत हुन् । नेपाली चेसलाई नयाँ स्वरूप र संरचनामा परिणत गर्ने सोच भएका उनकै पहलमा मखनमा चेस एकेडेमी सञ्चालन भएको थियो । सोही एकेडेमीमा प्रशिक्षण गरेकी तारा घले नेपालको पूर्व महिला राष्ट्रिय च्याम्पियन पनि हुन् ।
नेपालमा भएको पहिलो राष्ट्रिय टिम च्याम्पियनसिपमा सुजेन्द्र सहितको मखन चेस क्लब पहिलो बुद्धिचाल खेल सस्था हो भने त्यस समय उनी आफ्नो बोर्डका उत्कृष्ट खेलाडी पनि थिए । सुजेन्द्रको गत वर्ष निधन भएको हो ।