काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा एक करोड भन्दा बढी तलब लिएको पाइएको छ ।
सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछाने ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक रहँदा १ करोड भन्दा बढी तलब बुझेको उल्लेख छ ।
लामिछानेले आर्थिक वर्ष ०७८–०७९ मा मात्र ७४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन् । आर्थिक वर्ष ०७७–७८ मा उनले ३० लाख लिएको प्रतिवेदनमा उल्लेख छ । लामिछानेले जम्मा १ करोड ४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन् ।
समितिले ग्यालेक्सी टीभीमा सहकारी भन्दा बाहिरबाट कुनै पनि लगानी नभएको निष्कर्ष निकालेको छ ।
साथै समितिले लामिछानेलाई सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्ने प्रक्रियामा प्रमुख भूमिका रहेको भन्दै दोषी ठहर गरेको छ ।
साथै समितिले लामिछानेसहित गोर्खा मिडियाका संचालक जीबी राई, छबिलाल जोशी र कुमार रम्तेललाई प्रचलित कानून बमोजिम कारबाहीको सिफारिस गरेको छ ।