पाँचथरः फाल्गुनन्द गाउँपालिका ५ कोल्बुङस्थित जनकल्याण माविमा स्व.याम बहादुर चेम्जोङ तथा कृष्णहाङ्मा तुम्वापोका नाममा एकलाख रुपैंयाको अक्षयकोष स्थापना गरिएको छ । विद्यालयको शैक्षिक उन्नतीमा उर्जा प्रदान गर्ने उदेश्यसहित परिवारका सदस्यले बुबाआमाका स्मृतीमा बुधबार एक लाख एक हजार १११ रुपैंया अक्षयकोषको रकम हस्तान्तरण गरेका छन् । स्व.मरेचमान र छलिमायाका कोखबाट २०१४ साल भाद्र १२ गते जेठो सुपुत्रका रुपमा जन्मिएका चेम्जोङको गत महिना भाद्र १८ गते स्वर्गबास भएको थियो । उनका जेठा छोरा चन्द्र चेम्जोङ यस विद्यालयका शिक्षक अभिभावक संघका सदस्यसमेत हुन् । स्थानीय समाजसेवी चेम्जोङका तीन छोराबुहारी र नातीनातिना छन् ।
विद्यालयमा हालसम्म १९ लाख २८ हजार १११ रुपैंया अक्षयकोषमा रकम पुगेको प्रधानध्यापक पूर्ण कुमार सदेम्बाले जानकारी दिए । अक्षयकोष हस्तान्तरण समारोह विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्कबहादुर चेम्जोङको अध्यक्षता साथै ५ नम्बर वडाका कार्यवाहक वडाध्यक्ष घनेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा भएको थियो ।
२०२३ सालमा स्थापना भएको यो विद्यालय शैक्षिक, व्यवस्थापकीय सुधार,सुशासनमा उत्कृष्ट कार्य गर्ने पालिका भित्रका विद्यालयहरु मध्ये उच्चतम अंक प्राप्त गरी प्रथम स्थान हाँसिल गरेकोमा पालिकाबाट तीन लाख रुपैंया प्रदान गरिएको छ । २०८० को एसईईमा पालिका भरि सामुदायिक तर्फ प्रथम बनेको छ ।