धरान : नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्रबहादुर माङ्मु निर्वाचित भएका छन् ।
सुनसरीको धरानमा बिहीबार सम्पन्न क्रान्तिकारीको दोश्रो सम्मेलनले माङ्मुको अध्यक्षतामा प्रदेश कमिटि चयन गरेको छ । धरान १५ स्थित एक होटलमा तीन दिन लामो छलफल र सहमतीबाट १२ सदस्यीय पदाधिकारी सहित ५९ सदस्यीय प्रदेश कमिटि चयन भएको हो ।
सम्मेलनले लामो छलफल र वहस पछि निर्विरोध रुपमा कमिटि चयन गरिएको पूर्व अध्यक्ष हेमन्त राईले वताएका छन् । “छलफल बहसले लामो समय लियो तर निर्वाचन प्रणालीमा प्रवेश गर्नु परेन यो नै हाम्रो ठूलो गौरवको कुरा हो ।” उनले भने ।
पूर्व अध्यक्ष हेमन्त राईका अनुसार खुल्ला उपाध्यक्षहरु तर्फ अम्बिर काजी कुरुङ्ग, बिमल कार्की, पदम प्रसाद खड्का, समावेशी उपाध्यक्ष तर्फ देब बाहिङ्ग र छात्रा तर्फबाट प्रतिभा शाह चयन भएका छन् भने प्रमुख सचिवमा नयन राई चयन भएका छन् । त्यसैगरी सचीव पदमा खुल्ला तर्फ हेमराज राई, आदेश थापा र प्रदिप घिमिरे, समावेशी तर्फ ऋषि चाम्लिङ राई र छात्रा तर्फ लक्ष्मी मण्डल (प्रीया) चयन भएका छन् ।
कोषाध्यक्ष भने निर्विरोध चयन हुन सकेन । कोषाध्यक्षको चयन नवनिर्वाचित कोशी प्रदेश समितिको पहिलो कार्यसमिति बैठकले मनोनीत गर्ने निर्णय भएको पूर्व उपाध्यक्ष खेम रनपहेलीले जानकारी दिए ।
माओवादी केन्द्रका कोशी प्रदेश ईन्चार्ज हरिबोल गजुरेलको प्रमुख आथित्यतामा उद्घाटन भएको दोश्रो सम्मेलनको उद्घाटन समारोहमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, बरिष्ठ उपाध्यक्ष ईन्द भुसालको उपस्थिति रहेको थियो ।