जातीय भेदभाव गरेको भन्दै कारवाहीको माग

झापा : बुद्धशान्ति १ होक्सेका बलबहादुर खातीलाई स्थानीय चित्रबहादुर श्रेष्ठ र पुष्पलाल घिमिरेले छुवाछूत तथा भेदभावपूर्ण व्यवहार गरेको भन्दै उनीहरुलाई कानूनी कारवाहीको माग गरिएको छ । ‘बले कामीको अनुहार हेरेर लोधर लाग्यो’ भन्र्दै भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको भन्दै दलित अधिकारकर्मीहरुले श्रेष्ठ र घिमिरेलाई कारवाहीको माग गरेका हुन् ।

झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै दलित संघ संगठनहरुको तर्फबाट सहभागी अधिकारकर्मीले जातको आधारमा विभेद गर्नेलाई उन्मुक्ति नदिन मुक्ति समाजका नेता सोमनाथ पोर्तेलले आग्रह गरे ।

भिडियो बनाउनेहरुलाई कारबाहीका लागि जाहेरी दिँदा समेत इलाका प्रहरी कार्यालय धुलावारीले नदिएको पोर्तेलको भनाई छ । प्रहरी र सामाजिक अगुवाहरुले माफी मिनाहा दिनका लागि दबाब दिएको भन्दै दलित संघ संगठनका अगुवाहरुले पत्रकार सम्मेलनमार्फत खबरदारी गरेका हुन् ।

उत्पीडित दलित समुदायका संगठनका नेताहरुले घटना थाहा पाएपछि भदौ २४ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिँदा लिन नमानेको र प्रहरीलाई दबाब दिएपछि मात्र जाहेरी लिएको दलित मुक्ति मोर्चा झापाका अध्यक्ष सुरेश बराइलीले जानकारी दिए ।

भदौ २५ गते आरोपीलाई पक्राउ गरिएको र छलफल गर्न पीडित बलबहादुरलाई प्रहरीले खबर गरेको थियो । तर छलफल गर्ने बिषय नभएको हुँदा कानुनी कारबाही प्रक्रिया अगाडी बढाउनु भनि पीडितले भनेपनि बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्लेलाई फेरि आवश्यकता अनुसार हाजिर गराउने सर्तमा प्रहरीले जिम्मा लगाएको बराइलीको भनाई छ ।

२६ गते अभियुक्तको पक्षमा भेला भएका राजनीतिक दलका प्रतिनिधी तथा सामाजिक अगुवाहरुले कानुनी कारबाही प्रक्रिया अगाडि बढाउँदा सामाजिक सद्भाव भड्कने भन्दै मिलापत्र गर्न दबाब दिएको पूर्व जिसस प्रमुख समेत रहेका दलित अगुवा पोर्तेलले बताए । प्रहरीले अभियुक्तहरुलाई घटना भएको क्षेत्र इलाम भएको भन्दै इलाका प्रहरी कार्यालय पशुपतिनगरमा पठाएको छ ।

बिहीबार विहान ५०–६० जनाको समूह जाहेरवाला बलबहादुर खातीको घरमा आई मुद्दा फिर्ता लिन दवाव दिएको पोर्तेलको भनाई छ । दवावमा पारि पीडित बलबहादुरलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर तर्फ लैजादै गर्दा प्रहरीले अभियुक्तहरुलाई म्याद थपका लागि जिल्ला अदालत ईलाम लगिसकेको जानकारी पाएपछि बलबहादुरलाई फर्काइएको थियो । जबरजस्ती मेलमिलापका लागि दवाव दिइरहेको अधिकारकर्मीको भनाई छ । उनीहरुले पत्रकार सम्मेलन मार्फत कानुनी कारबाहीको मात्रै माग गरेका बताएका छन् ।

-पूर्वाञ्चल 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार