झापाः नेपालको पूर्वी नाका मेचीनगरको आसपासबाट लुकीछिपी विभिन्न सामानहरु ओसारपसार गर्ने लाई निगरानी बढाइएको छ । यस क्षेत्रमा साईकल र मोटरसाईकलबाट पोकापोकी बनाएर भारतबाट नेपाल सामान ल्याउने गरेको हल्ला चलिरहे तापनि हाल नेपाल प्रवेश गर्नेद्वार मेचीनगरबाट कारमा राखेर सामान तस्करी हुन थालेको छ ।
भन्सार छलेर नेपाल भित्राएको सामानसहित प्रहरीले शनिवार साँझ तीनजना भारतीय नागरिकलाई नेपाल भारत सीमाको काँकडभिट्टा नाकाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पानी ट्याङ्कीका रामदयाल बर्मन, अमित राय र राजकुमार घोस रहेका छन् । उनीहरू सबै कारमा सवार थिए ।
भारतीय नम्बरका तीनवटा कारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा भन्सार छलीको सामानसहित शनिबार अपरान्ह चालक पक्राउ परेका हुन् । प्रहरीले भन्सार छलीको कपडा बरामद गरेको हो ।
झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले नियन्त्रणमा लिइएका कारमा ३ लाख ९९ हजार मूल्य बराबरको कपडा फेला परेको जानकारी दिनुभयो ।
प्रहरीले सामान बाहेक गाडीको मूल्य २४ लाख राखेको छ । शनिबार साँझ मेची पुलबाट प्रहरीले १ लाख ५१ हजार मूल्य बराबरको सामान पनि बरामद गरेको थियो ।
अलग–अलग दुई स्थानबाट बरामद भएका सामान र गाडीको २९ लाख ५० हजार एकसय रुपैयाँ कायम गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।-कन्काई अनलाइनबाट