इलाम : आदिवासी लिम्बूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङले आफ्नो ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउँदैछ ।
वि.सं. २०४७ साल भदौं १७ गते आजभन्दा ३६ वर्ष अघि स्थापना भएको कियाचु नेपालमा मात्र नभएर विदेशमा पनि संस्था स्थापना भई क्रियासिल रहेको जातीय संगठन हो ।
कियाचु संघीय कार्यालयले “लिम्बुवान स्थापना हाम्रो प्रतिबद्धता, मुक्कुम्लुङ पवित्र स्थलमा केवलकार निर्माण खारेज गर, कोशी नाम खारेज गर, ऐतिहासिक पहिचानको आधारमा ‘लिम्बुवान, किरात’ प्रदेश १ को नाम कायम गर” नाराहरु दिएर पाँच दिवसीय कार्यक्रम आयोजना गरि मनाउँदैछ ।
यहि भदौं १३ गते देखि शुरु भएको कार्यक्रममा पहिलो दिन साम्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार वितरण तथा मुन्धुम स्वर्णियम साँझको आयोजना कियाचु संघीय कार्यालय नखिपोटमा आयोजना गरेको थियो ।
यसैगरी १४ गते प्रदेश १ को नाम कोशी खारेजी तथा मुक्कुम्लुङ संरक्षणको सवालमा विचार विमर्श सहित चियापान एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।
भदौं १५ गते ‘कलामा आदिवासी प्रतिरोध’ विषयमा बहस कार्यक्रम तथा मुक्कुमलुङमा नो केवलकार एक्जीविसन चुम्लुङहिममा सम्पन्न भएको थियो ।
यस्तै कियाचु संघीय समितिले आइतबार विश्वव्यापी भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाल, भारत, बेलायत, हङकङ, कोरिया, अमेरिका, अष्ट्रेलिया, खाडी मुलुकहरु, मलेसिया लगायत दर्जनौं देशहरुमा रहेको चुम्लुङ संगठनका प्रमुख लगायत जिम्मेवार नेतृत्वहरु बिच शुभकामना आदानप्रदान भएको कियाचु महासचिव निरन्ती तुम्बापोले बताइन ।
आज (सोमबार) कियाचू संघीय कार्यसमितिले मूल समारोह कार्यक्रम गर्ने जनाएको छ । रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार वितरण कार्यक्रम त्यसैगरी के लाङ, या?लाङ, येवा लाङ, हाक्फारे, पालाम, ख्याली जस्ता लिम्बु संस्कृतिमा आधारित सांगीतिक तथा संस्कृतिक कार्यक्रम सहित कार्यक्रम गरिने जनाएको छ ।
यसैगरी लिम्बुवान प्रदेश समितिले झापाको दमकस्थित किरात भवनमा कियाचु झापा जिल्ला र दमक नगर समितिसँग संयुक्त रुपमा विविध कार्यक्रम गरि स्थापना दिवस कार्यक्रम आयोजना गरिने प्रदेश समिति अध्यक्ष मधुराज केरुङले बताए ।
कार्यक्रममा झापामा रहेका सबै याक्थुङहरुलाई उपस्थितिको लागि आव्हान गरिएको जितेन पन्धाक साङसेनले बताए ।
यसैगरी मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पान्थर, इलाम, भरतपुर लगायत विभिन्न जिल्ला र पालिका शाखाहरुमा पनि चुम्लुङको ३६औं स्थापना दिवस मनाउने तयारी भईरहेको बताइएको छ ।
प्रवासमा रहेको कियाचूले पनि आ-आफ्नो प्रवासमा विविध कार्यक्रम गरि स्थापना दिवस मनाउन कियाचु संघीय समितिले आव्हान गरेको महासचिव तुम्बापोले बताइन् ।
२०४६ सालको जनआन्दोलन पश्चात बहुदलीय व्यवस्था स्थापनासँगै स्थापना भएको लिम्बु याक्थुङ जातीहरुको जातीय संगठन किरात याक्थुङ चूम्लुङ याक्थुङ भाषा, लिपि, संस्कार, संस्कृति, परम्परा र रितिथितिलाई उजागर गर्दै मौलिक पहिचान सहित लिम्बुवान स्थापनाको लागि निरन्तर क्रियासिल रहेको छ ।