काठमाडौं : नेपाली कांग्रेसले महामन्त्री गगन थापाको चुनाव अगाडि कसैसँग गठबन्धन गर्न नहुने प्रस्ताव अन्ततः पारित गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले ८४ को निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने प्रस्ताव पारित गरेको हो ।
‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं’, निर्णयमा भनिएको छ ।
विगतमा पार्टीले विशेष राजनीतिक परिस्थितिमा अन्य दलहरूसंग निर्वाचन पूर्व गठबन्धन गरेर निर्वाचन लडेतापनि आगामी आम निर्वाचनमा बहुमत ल्याउने गरी एक्लै चुनाव लड्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ ।
महामन्त्री थापाले यो प्रस्ताव गत फागुनमा सम्पन्न महासमिति बैठकमा राखेका थिए । तर उनको यस्तो प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत थिएनन् । महामन्त्री थापा आफ्नो प्रस्तावमा अडिग रहने र सभापति देउवाले अस्वीकार गर्दा नेताहरु दुई खेमामा विभाजित भएका थिए ।
त्यसबेला महामन्त्री थापाको प्रस्ताव थियो, ‘पार्टी संगठन र समर्थक–शुभेच्छुकको ताकत र आम जनताको विश्वासमा आगामी आवधिक सबै तहको निर्वाचनमा पार्टी एक्लै लडेर पार्टीलाई पुनः एकल बहुमत सहितको लोकप्रिय पार्टीको रूपमा स्थापित गर्नेछौं ।’
देउवा पक्षीय नेताहरुले चुनावी तालमेल रणनीतिक विषय भएकाले सार्वजनिक निर्णय गरेर जान नहुने तर्क गर्दै आइरहेका थिए । देउवा तयार नभएकाले महासमितिले निर्णय लिन सकेन ।
तर यही प्रस्तावलाई देखाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत २१ फागुनमा सत्ता समीकरण नै बदले । गगनकै प्रस्तावका कारण कांग्रेस सरकारबाट समेत बाहिरिनुपर्यो ।