पाँचथरः जिल्लाको फालेलुङ गाउँपालिका-५ स्थित प्राङवुङको डाडागाउँ टोलमा भएको ग्रिनेड विस्फोटका कारण थप एक बालकको मृत्यु भएको छ। स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा, जो यस विस्फोटमा गम्भीर घाइते भएका थिए, बी एन्ड सी अस्पताल झापा पुर्याउँदा राती १ बजे मृत्यु भएको हो। यसअघि, दिप्सनकी अढाई वर्षीया बहिनी प्रिन्सा साँवाको पनि इलाम पुर्याउँदै गर्दा बाटोमै राति १० बजे मृत्यु भएको थियो।
यो घटना बिहीबार दिउँसो भएको हो, जसमा माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन र दिलिप साँवाका छोराछोरी घाइते भएका थिए। घाइते तीनै जनालाई पाँचथर अस्पतालमा प्रारम्भिक उपचारपछि झापा रेफर गरिएको थियो। पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको चिकित्सक किरण गौतमले जानकारी दिएका छन्।
घटनाबारे अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार, विस्फोटको कारण घरेलु ग्रिनेड हुन सक्ने आशंका छ। घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएको छ, जसलाई डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली पठाइएको छ।
विस्फोट भएको घर माओवादी कार्यकर्ता आइतराज केरुङको भएको र द्वन्द्वकालमा लुकाइएको बम हुन सक्ने स्थानीयवासीको आशंका छ। यसबारे प्रहरीले र नेपाली सेनाको टोली बिहानै घटना स्थलमा पुगेर थप अनुसन्धान भैरहेको श्रोतले जनाएको छ।-फालेलुङ न्युज