जन्मदर्ता र मृत्युदर्ता गराउँदा देउमाई नगरपालिकाबाट पाँच-पाँच हजार सहयोग

इलाम : इलामको देउमाई नगरपालिकाले घटनादर्ता अन्तर्गत ३५ दिनभित्र जन्मदर्ता र मृत्युदर्ता गराएवापत पाँच-पाँच हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ । देउमाईले नगरपालिकाको तर्फबाट ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ अन्तर्गत नगरभित्र स्थायी रुपमा बसोबास गरेका प्रत्येक सुत्केरीलाई आफ्नो बच्चाको ३५ दिनभित्र जन्मदर्ता गराए  पाँच हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउँदै आएको हो ।

आर्थिक वर्ष २०८०/०८१ मा नगरभित्रका दुई सय २७ जना सुत्केरीले देउमाई नगरपालिकाबाट ११ लाख ३५ हजार रुपैयाँ पोषणभत्ता प्राप्त गरेका छन् । उनीहरु सबैले समयमै जन्मदर्ता गराई नगरपालिकामा पेश गरेपछि पोषण भत्ता उपलब्ध गराइएको देउमाई नगपालिकाका लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए ।

देउमाईले अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा नगरभित्र स्थायी रुपमा बसोबास गरेका तीन सय १२ जना सुत्केरीले  १५ लाख ६० हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराएको थियो ।  देउमाई नगरभित्र स्थायी रुपमा बसोबासी गरी कुनैपनि स्वास्थ्य संस्थामा चार पटक गर्भ जाँच गरेको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेको उनले बताए ।

गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिन भित्रको आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिमा आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ लागू गरिएको नगर प्रमुख सूर्यप्रसाद पोख्रेलले बताए । ‘सुत्केरी आमा र नवजात बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकरात्मक सन्देश प्रवाह गर्नका लागि सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रम लागू गरिएको हो’ नगर प्रमुख पोख्रेलले भने ।

त्यैगरी देउमाई नगरपालिकाले कुनैपनि कारणले मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई दाहसंस्कार खर्चवापत पाँच हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०८०/०८१ मा देउमाईका दुई सय चार जना मृतकका परिवारले १० लाख २० रुपैयाँ दाहसंस्कार खर्च प्राप्त गरेका छन् ।

घटना भएको ३५ दिनभित्र मृत्युदर्ता गराई नगरपालिकामा पेश गरेपछि दाहसंस्कार खर्च उपलब्ध गराउने व्यवस्था रहेको लेखा अधिकृत एक्तेनले बताए । देउमाईले अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा नगरभित्रका एक सय ९० जना मृतकका परिवारलाई नौ लाख ५० हजार रुपैयाँ दाहसंस्कार खर्च उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार