देउमाईका १७५४ ज्येष्ठ नागरिकले पाए पोसाक भत्ता वापत ३५ लाख

इलाम : इलामको देउमाई नगरपालिकाका एक हजार सात सय ५४ जना ज्येष्ठ नागरिकले नगरको तर्फबाट पोसाक भत्ता पाएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा उनीहरुले ३५ लाख चार हजार रुपैयाँ पोसाक भत्ता पाएका पाएका हुन् ।

देउमाई नगरपालिकाले लागू गरेको ‘सामाजिक सुरक्षा कार्यक्रम’ अन्तर्गत देउमाई नगरभित्र स्थायी बसोबास गर्ने ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई दुई हजार रुपैउँ का दरले पोसाक भत्ता उपलब्ध गराएको हो । उनीहरुलाई नगरपालिकाले वार्षिक रुपमा एममुष्ठ दुई हजारका दरले पोसाक भत्ता उपलब्ध गराएको लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए ।

देउमाईले ज्येष्ठ नागरिकलाई पोसाक भत्ताका लागि सो आर्थिक वर्षका लागि ३६ लाख रुपैयाँ विनियोजन गरेको थियो । देउमाईले अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा एक हजार पाँच सय ७६ जना ज्येष्ठ नागरिकलाई ३१ लाख ५२ हजार रुपैयाँ पोसाक भत्ता उपलब्ध गराएको थियो ।

यसैबीच, चालु आर्थिक वर्ष ०८१/०८२ का लागि भने यो कार्यक्रम रोकिएको छ । नगरको तर्फबाट सामाजिक सुरक्षा कार्यक्रम वितर नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि कार्यपालिकाको बैठकले निर्णय गरी कार्यक्रम रोकिएको नगरपालिले जनाएको छ ।

यसैबीच देउमाई नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा दीर्घ रोगी २५ जनालाई उपचार खर्च उपलब्ध गराएको छ ।

देउमाईले दीर्घ रोगीलाई औषधि खर्चवापत पाँच हजार रुपैयाँका दरले एक लाख २५ हजार रुपैयाँ खर्च गरेको लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए ।

देउमाईले नगरभित्र स्थायी रुपमा बसोबास गरेका दीर्घ रोगीलाई वार्षिक रुपमा एकपटक उपचार खर्च उपलब्ध गराउँदै आएको छ । देउमाईले अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा दीर्घ रोगी ४० जनालाई दुई लाख उपचार खर्च उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार