शौचालयमा फिनेल खाएका थुनुवा प्रहरी हिरासतबाटै गायब

  नयाँ बुलन्द
98 Shares

झापा :  झापामा प्रहरी हिरासतमा रहेका एकजना थुनुवा फरार भएका छन् । उपचारको बहानामा अस्पताल पुर्याइएका उनी एकाएक गायब भएको बताइएको छ ।

गत सोमबार बिर्तामोडको बिर्तासिटी अस्पतालबाट थुनुवा फरार हुनुमा प्रहरीको कमजोरी पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले हिरासतमा पेट दुःखेको भनेपछि थुनुवा विशाल राईलाई अस्पताल लगिएको थियो । तर उनले शौचालयभित्र राखिएको फिनेल खाएकाले पेट दुःखेको यथार्थ पछि खुल्न आएको बताइन्छ ।

हिरासतको ट्वालेटजस्तो संवेदनशील ठाउँमा प्रहरीले फिनेल राखेको कारण राईले भदौ ४ गते दिउँसो ३ बजे शौचालयभित्र पसेर फिनेल खाएका थिए । त्यसपछि हिरासतको ड्युटीमा रहेका प्रहरी हवल्दार बमबहादुर राईलाई नै विशालको उपचारार्थ सँगै अस्पताल पठाइयो ।

ड्युटीमा थकित हवल्दार मात्र अस्पतालमा भएकाले मध्यरातमा थुनुवा विशाल राई हतकडी फुकालेर शुक्रबार फरार भए । तर, शनिबार प्रहरीले उनलाई पुनः पक्राउ गरेको छ । पक्राउ गर्न सफल हवल्दार बलबहादुर तामाङलाई पुरस्कार दिने योजनामा प्रहरी रहेको बुझिएको छ । तर, ती हवल्दार पनि यसअघि विवादमा परेका थिए ।

थुनुवा फरारलगत्तै हवल्दार राईलाई निलम्बन गरिरएको थियो । आफ्नै इलाकामा भएको घटनाको विषयमा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टलाई निलम्बन, सोधखोज गर्नुको सट्टा उल्टै घटना छानबिनको प्रमुख बनाइएकोमा इलाका प्रहरीभित्रै आश्चर्य मानिएको छ ।

केही मिडियाले इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको असुली धन्दाको विषयमा समाचार लेख्न थालेपछि प्रहरीले पत्रकारको ध्यान अन्यत्र मोड्न नयाँ जुक्ति निकालेको बताइन्छ । डिएसपी विष्ट र हवल्दार तामाङको सेटिङमा उक्त कार्य अपनाइएको स्रोतको दाबी छ ।

तामाङ बिर्तामोड क्षेत्रमा बर्दीको धम्कीमा असुली धन्दा मञ्चाउने प्रहरीको नामले प्रख्यात छन् । प्रहरीको कोशी प्रदेश कार्यालयका डिआईजी चन्द्रकुवेर खापुङलाई समेत आफ्नो पक्षमा पारिएकाले विरुद्धमा केही नहुने स्वयम् तामाङले निकटस्थहरुसँग बताउने गरेको पाइएको छ ।

हुनतः उनको यसअघि पहाडी जिल्लामा सरुवा भएको थियो । तर अझै बिर्तामोडमा नै कार्यरत छन् । विवादमा अएपछि केही महिनाअघि पहाड गएका उनलाई पुनः बिर्तामोड झारिएको छ । अहिले उनैलाई पुरस्कार दिने तयारी गरेपछि धेरैले अचम्म मानेका हुन् ।

-नजआस्था

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार