इलाम : इलामको माङसेबुङ गाउँपालिकाले दुई वटा शाखाको सेवा केन्द्र विस्तार गरेको छ । माङसेबुङले कृषि विकास शाखा र पशु सेवा शाखाको सेवा केन्द्र विस्तार गरेको हो । माङसेबुङ गाउँपालिका-२ बाट सेवा प्रवाह गर्दै आएको कृषि विकास शाखा र पशु सेवा शाखाको सेवा केन्द्र माङसेबुङ गाउँपालिका-६ स्थित माङमालुङ बजारमा विस्तार गरेको हो ।
शुक्रबार दुवै सेवा केन्द्रको उद्घाटन गरी सेवा प्रवाह सुचारु गरिएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले एक कार्यक्रमबीच सेवा केन्द्रको उद्घाटन गरे । सेवा केन्द्रको उद्घाटन गर्दै मन्त्री मगरले शाखाको सेवा केन्द्र विस्तारले सेवाग्राही नागरिकहरुमा संघीयताको थप अनुभूति दिलाएको बताए । उनले सेवा केन्द्र स्थापनासँगै सेवा प्रवाहमा सहजता मिल्ने विश्वास व्यक्त गरे ।
मन्त्री मगरले माङसेबुङ गाउँपालिकाको विकास र समृद्धिका लागि प्रदेश सरकार सधैँ तत्पर रहेको प्रतिवद्धता जनाए । ‘यो क्षेत्र कृषि, पशुपालन र पर्यटनको हिसाबले समेत थुप्रै सम्भावना रहेको क्षेत्र हो, यसको विकासका लागि स्थानीय सरकारसँग सहकार्य गर्न प्रदेश तत्पर छ,’ मन्त्री मगरले भने, ‘यहाँको कृषि, पशुपालन र पर्यटन क्षेत्रको व्यवस्थापन र बजारीकरणका लागि पहलकदमी गर्न प्रदेश सरकार सधैँ साथमा छ ।’
साविक बाँझो गाउँ विकास समितिको भवनमा दुवै सेवा केन्द्रको कार्यालय स्थापना गरिएको छ । सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरी कृषि विकास र पशु सेवा शाखाको सेवा केन्द्र विस्तार गरिएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । उनले सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिन सेवा केन्द्रबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाईएको बताए । ‘तत्कालका लागि प्रत्येक सेवा केन्द्रमा एक/एक जना कर्मचारी व्यवस्थापन गरी दैनिक रुपमा सेवा प्रवाह गर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘अन्य व्यवस्थापन विस्तारै गर्दै लगिनेछ ।’
यसैबीच माङसेबुङ हुलाक कार्यालय समेत सोही ठाउँमा स्थापना गरिएको छ । माङसेबुङ गाउँपालिका-६ स्थित चिसोपानी पञ्चमी बजारमा रहेको साविक चिसोपानी इलाका हुलाक कार्यालय माङसेबुङ हुलाक कार्यालयमा रुपान्तरित भएसँगै माङमालुङ बजारमा स्थानान्तरण गरिएको हो ।
कार्यक्रममा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहान, जिल्ला हुलाक कार्यालयका प्रमख गणेश घिमिरेलगायतले नागरिकलाई संघीयताको आभास दिलाउन तीनै तहको सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा माङसेबुङ गाउँपालिका-२ का वडाअध्यक्ष कृष्णबहादुर बस्नेत, ६ का वडा अध्यक्ष प्रदिप साङपाङ, प्रवक्ता सुसन राईसहित, सुरक्षाकर्मी, संञ्चारकर्मी लगायतकाे उपस्थिति रहेकाे थियाे ।