स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलाम जिल्लामै सर्वोत्कृष्ट

इलाम : जिल्लाको पुरानो नगरपालिका इलाम स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) नजितामा जिल्लामै सर्वोत्कृष्ट बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ८९ दशमलव ५० प्रतिशत अङ्क ल्याएर इलाम नगरपालिका जिल्लामै सर्वोत्कृष्ट बनेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको सूचना प्रविधिमा आधारित ढाँचा अनुसार इलाम नगरपालिकाले स्वमूल्याङ्न गर्दा १० वटा विषयक्षेत्रहरुको अङ्भार जोड्दा १०० मा ८९ दशमलव ५० अङ्क पाएको हो ।

इलाम नगरपालिकाले प्रशासकीय प्रबन्धमा ८,  सङ्गठन तथा प्रशासनमा ७ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८ दशमलव ५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १० र सेवा प्रवाहमा १४ दशमलव २५ अङ्क प्राप्त गरेको छ । त्यस्तै न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा १०, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ८ दशमलव ५ र सहकार्य र समन्वयमा ५ दशमलव ५ अङ्क प्राप्त गरेको छ ।

इलाम नगरपालिकाको नजिता अघिल्लो वर्षभन्दा राम्रो हो । अघिल्लो वर्ष २०७८/०७९ मा ९३ प्रतिशत अङ्क ल्याएर जिल्लामै दोस्रो भएको थियो । यसवर्ष भने नजितामा सुधार गरेर जिल्लामै सर्वोत्कृष्ट बनेको हो ।

१० स्थानीय तहमध्ये सूर्योदय नगरपालिकाले ८८ दशमलव २५ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो स्थानमा रहेको छ । सूर्योदयले अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा ९६ दशमलव २५ प्रतिशत अङ्क ल्याएर सर्वोत्कृष्ट भएको थियो । यस वर्ष एक स्थान पछि परेको छ ।

त्यसैगरी सन्दकपुर गाउँपालिकाले ७८ दशमलव २५ प्रतिशत अङ्क प्राप्त गरी तेस्रो एवम् गाउँपालिकातर्फ भने पहिलो स्थान हासिल गरेको छ । त्यस्तै चुलचुली र फाकफोकथुम गाउँपालिकाले बराबरी ७१ दशमलव ७५ प्रतिशत अङ्क प्राप्त गरी चौथो र रोङ गाउँपालिकाले ६८ दशमलव ५० प्रतिशत अङ्क प्राप्त गरी पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै देउमाई नगरपालिकाले ६७ दशमलव २५ प्रतिशत अङ्क प्राप्त गरी छैठौं, माईजोगमाई र माङसेबुङ गाउँपालिकाले ६४ प्रतिशत अङ्क प्राप्त गरी सातौं र माई नगरपालिकाले ६१ प्रतिशत अङ्क प्राप्त गरी आठौं स्थानमा रहेको छ ।

मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गर्न, विकास तथा सुशासनमा रहेका कमीकमजोरफहरुको जानकारी लिन, आवधिका समीक्षाका लागि आधार प्राप्त गर्न स्वमूल्याङ्कन गराउँदै आएको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न १० सूचक र १०० उपसूच निर्धारण गरेको छ । सोही सूचक र उपसूचकका आधारमा संस्थागत क्षमता स्वमूल्याङ्कन गर्ने गरिन्छ ।

मन्त्रालयले ४० प्रतिशत भन्दा कम अङ्क ल्याउनेलाई नाजुक, ४० देखि ६० प्रतिशत अङ्क ल्याउनेलाई कमजोर, ६० देखि ८० प्रतिशत अङ्क ल्याउनेलाई राम्रो र ८० प्रतिशतमाथि अङ्क ल्याउनेलाई उत्कृष्ट स्थानीय तहको रुपमा वर्गीकरण गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार