चुलाचुली गाउँपालिका-५ ‘बालमैत्री वडा घोषणा’

  नयाँ बुलन्द
56 Shares


इलाम : इलामको चुलाचुली गाउँपालिका-५ लाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा’ गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निदिष्ट गरेका तहगत खुड्किला, मापदण्ड र ५१ वटा सूचक पार गरेपछि वडालाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा’ गरिएको हो ।

बुधबार वडा कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर रानाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरे । यसअघि चुलाचुली गाउँपालिका-३ लाई मङ्गलबार मात्र ‘बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा’ गरिएको थियो ।

बालबालिकाको बचाउ, संरक्षण, विकास, अर्थपूर्ण सहभागिताको अधिकारलाई स्थानीय तहको नीति, संरचना, प्रणाली र कार्यप्रक्रिया व्यवहारमा संस्थागत गरेकाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष वविन वान्तवाले बताए ।

वडाले बाल अधिकारसँग सम्बन्धित बाल बचाउका क्षेत्रमा १४, बाल संरक्षणका क्षेत्रमा १०, बाल विकासका क्षेत्रमा छ, बाल सहभागिताका क्षेत्रमा छ र संस्थागत विकासको क्षेत्रमा १५ गरी ५१ वटा सूचकहरु पूरा गरेको उनले बताए ।  उनले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न आवश्यक सूचकहरु पूरा गर्न वडास्थित विद्यालय, बालक्लब र बाल सञ्जाल, नागरिक समाज, राजनैतिक दल, टोल विकास संस्था, सञ्चारकर्मीलगायत सरोकारवालाहरु सबैको महत्वपूर्ण योगदान रहेको बताए ।

चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले आगामी वर्षसम्ममा पालिकालाई नै बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने गरी अघि बढिएको बताए । बालबालिकाको ‍चौतर्फी विकासका लागि गाउँपालिकाले ठोस योजनासहित बजेट तर्जुमा गर्ने बताए ।  उपाध्यक्ष दिलकुमारी लिम्बूले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा आफू प्रतिवद्ध रहेको बताइन् ।  निवर्तमान गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राइले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभन्दा कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको उल्लेख गर्दै गाउँपालिका अझ जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न विभिन्न तवरबाट सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।

सो वडालाई बालमैत्री बनाउन सङ्कल्प नेपालले प्राविधिक सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार