काठमाडौं : नेपाल आदिवासी जनजाति कर्मचारी मञ्चले ५० लाख बराबरको अक्षय कोष स्थापना गर्ने भएको छ । मञ्चको सङ्घीय समिति बैठकले ‘नेपाल आदिवासी जनजाति कर्मचारी मञ्च अक्षय कोष सञ्चालन कार्यविधि, २०८१’ पारित गर्दै सो निर्णय गरेको मञ्चका अध्यक्ष दिलकुमार लिम्बूले जानकारी दिए ।
आदिवासी जनजाति युवाहरुलाई सार्वजनिक प्रशासनमा आकर्षित गर्न नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन, अभिमुखीकरण र सशक्तिकरण गर्ने उद्देश्यका साथ कोष स्थापना गर्न लागिएको अध्यक्ष लिम्बूले बताए । त्यसैगरी कोषबाट आदिवासी जनजातिका क्षेत्रमा अध्ययन, अनुसन्धान र सार्वजनिक प्रशासनका विषयमा वहस एवम् पैरवी गर्ने लक्ष्य लिएको छ ।
मञ्चका पदाधिकारी, सदस्यसहित राष्ट्रसेवक कर्मचारी, शुभेच्छुक एवम् विभिन्न दाताबाट प्राप्त भएको रकम कोषमा जम्मा गरिनेछ । त्यसका लागि मञ्चले औपचारिक रुपमा निर्णय गर्दै कोषमा रकम जम्मा गर्न अपिल समेत गरेको छ ।
कोषमा रकम जम्मा हुने क्रम समेत सुरु भएको मञ्चले जनाएको छ । मञ्चले कोषमा रकम जम्मा गर्न इच्छुक सहयोगीहरुलाई एभरेष्ट बैंकमा NEPAL INDIGINOUS NATIONALITIES EMPLYEE FORUM नाममा खोलिएको खाता नम्बर 00120105200056 मा रकम जम्मा गर्न अपिल गरेको छ ।